नारायणकाजीले भने : देशमा केटाकेटी खेल भयो ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नारायणकाजीले भने : देशमा केटाकेटी खेल भयो !



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किएकोमा चिन्ता प्रकट गरेका छन् ।

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिकाबारे राजनीतिक बृत्तमा अनेक आशंकासहितका प्रश्न उठिरहेको समयमा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सिके राउतसँग ‘जनमत संग्रह’बारे कुनै सम्झौता नभएको प्रष्ट्याएका थिए । आइतबार उनले सांसदको प्रश्नको जवाफ दिँदै सिके राउत देशको अखण्डताको पक्षमा आएको दावी गरेका थिए ।

आइतबार नै सिके राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले उनलाई ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गरेका थिए ।

त्यसलगत्तै नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र कि भइरहेको छ ? यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु. कदम चाल्नुपर्छ । गम्भीर बनौं ।’

प्रवक्ता श्रेष्ठले अर्को ट्वीट गर्दै समृद्ध नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिष्ठा–प्रचार र पैसा–सुविधाको निम्ति ? यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं । राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं ।’