नारायणकाजीले भनेः केसीले जे माग्नुभयो त्यो पूरा हुदैन - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

नारायणकाजीले भनेः केसीले जे माग्नुभयो त्यो पूरा हुदैन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रयोग गरेर सरकारलाई अप्ठेरोमा पार्ने खेल भइरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवस कार्यक्रमका लागि गृहजिल्ला गोरखा पुगेका उनले सरकारको काममा वाधा पुर्‍याउने गरी चलखेल सुरु भएको बताएका हुन् ।

‘बल्ल बल्ल पहिलो पटक राजनीतिक स्थिरता र जनुमखी विकास दिने गरी सरकारले काम गर्न लागेको बेला राजनीतिक स्थिरता पनि हुन नदिने र जनताले निर्वाचित गरेर बनाएको सरकारलाई अप्ठ्यारोमा पार्ने अभिप्रायले चलखेल भइरहेको छ,’ उनले पत्रकारहरुसँग भने ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सरकार लागी परेको बताए । डा. गोविन्द केसीको अनसन प्रति इंगित गर्दै श्रेष्ठले वार्ताद्वारा विना पूर्वाग्रह खुल्ला ढंगले समस्या समाधान गर्ने जानकारी दिए ।

‘डाक्टर केसीले जे जे भन्नुहुन्छ त्यो हुदैन तर स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि हामी प्रतिवद्ध छौ‌ं,’ उनले भने । नेपालको चिकित्सा शिक्षा नीतिलाई गुणस्तरीय बनाउन सरकारको ध्यान केन्द्रित रहेको उनले जानकारी दिए ।

उनले निजी मेडिकल कलेजलाई तत्काल राष्ट्रियकरण गर्ने सोच सरकारको नरहेको बताए । ‘निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौ भने संविधान उल्लघंन गर्‍यो, व्यक्तिगत सम्पत्ति हड्प्यो, अधिनायकवाद उदायो भनेर अनेक आरोप लगाउँछन्, त्यसैले अहिले राष्ट्रियकरण गर्ने सोच बनाएका छैनौ,’ उनले भने ।