डा केसीलाई भेट्न पुगेका श्रेष्ठलाई मेडिकल के भन्यो मेडिकल टिमले ? - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

डा केसीलाई भेट्न पुगेका श्रेष्ठलाई मेडिकल के भन्यो मेडिकल टिमले ?



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा गोविन्द केसीलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पतालमा डा केसी अनसन बसिरहेको स्थानमा पुगेर श्रेष्ठले भेट गरेका हुन्।

करिब ५ मिनेट भएको भेटमा प्रवक्ता श्रेष्ठले डा केसीलाई स्वास्थ्य परीक्षण र उपचार गर्न अनुरोध गरेका थिए। ‘पहिला तपाईं स्वास्थ्य परीक्षण गराउनुहोस्। त्यसपछि मागका विषयमा गम्भीर छलफल गरौँला,’ श्रेष्ठले डा केसीलाई भनेका थिए।

डा केसीले नेता श्रेष्ठका कुरा सुनिमात्र रहे। तर, कुनै प्रतिक्रिया दिएनन्। जुम्लामा बल प्रयोग गरेर काठमाडौं ल्याइएको, अस्पतालभित्र लाठीचार्ज र बल प्रहार गरिएको विरोधमा डा केसीले उपचार गर्न मानेका छैनन्।

त्यसपछि नेता श्रेष्ठले डा केसीको रेखदेखमा संलग्न मेडिकल टिम र सहयोगीसँग डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। मेडिकल टिमले दुई दिनदेखि कुनै पनि परीक्षण नहुँदा गम्भीर स्वास्थ्य समस्या आइसकेको जानकारी गराएका थिए। उनीहरुले डा केसीको दुई दिनअघिको अवस्था नै नाजुक भएको बताउँदै त्यसयता कुनै परीक्षण नै नगरिएकाले सुनसुकै बेला खतरा हुन सक्ने जनाएका थिए।

उनीहरुले श्रेष्ठलाई ‘तपाईं समक्ष के-कस्ता कुरा आइपुग्छ त्यो हामीलाई जानकारी छैन। तर, यस्तै अवस्था रहिरहेमा तपाईंले डा केसीलाई फेरि भेट्न नपाउन पनि सक्नु हुन्छ। हि इज सिरियस्ली इल’ भन्ने जानकारी दिएका छन्।

यो जानकारी पाएपछि नेता श्रेष्ठ टाउको मात्र हल्लाएर बाहिर निस्किएका थिए।

डा केसी अनसनको आज २३औं दिन हो। सरकारले बिहीबार जुम्लाबाट जबरजस्ती काठमाडौं ल्याएपछि डा केसीले रगत, मुटुको चाल लगायतका कुनै पनि परीक्षण र उपचार गराएका छैनन्।