नारायणकाजी पनि मिडिया विधेयक पास गर्ने पक्षमा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नारायणकाजी पनि मिडिया विधेयक पास गर्ने पक्षमा



लमजुङ- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणकाजी श्रेष्ठले मिडिया विधेयक प्रेस स्वतन्त्रता विरोधी नहुने बताएका छन् । प्रेस संगठन लमजुङको आयोजनामा बेंसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि नेपालका सञ्चारमाध्यमले खेलेको भूमिका गहन भएको बताए । उनले भने, ‘भोलिका दिनमा समृद्ध नेपालका लागि सञ्चारमाध्यमको उत्तिकै महत्व हुने हुँदा नेकपा कुनै पनि अवस्थामा प्रेस जगत्लाई कमजोर बनाउने पक्षमा छैन ।’ मिडिया विधेयक प्रेस स्वतन्त्रता विरोधी आउदै छ भन्ने हल्लाका पछि नलाग्न उनले सञ्चारकर्मीलाई आश्वस्त हुन आग्रह गर्दै मिडिया विधेयक प्रेस स्वतन्त्रता विरोधी हुन नसक्ने दाबी गरे ।

त्यस्तै, नेपालको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको बचाउका लागि कुनै कसर बाँकी नराख्ने उनको जिकिर छ । उनले भने, ‘नेपालको इतिहासमा अहिलेको सरकारले मात्र लिपुलेक र कालापानी मात्र नभई लिम्पियाधुरासमेत नेपालको भएको तर्क, तथ्यसहित भारत सरकारसँग कुरा राखेको छ यसका लागि राजनीतिक र कूटनीतिक वार्ताका माध्यमले त्यसको समाधानमा सरकार लागिपरेको छ ।’ एमसीसीका बारेमा पार्टीको सचिवालय बैठकले दलको धारणा सार्वजनिक गर्ने बताए ।

अर्को एक प्रसंगमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रवक्ता श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताए । उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दल नेकपा भएकाले सो पदमा दाबी स्वाभाविक हो तर संवैधानिक प्रावधानअनुसार उपसभामुखले राजीनामा नदिँदासम्म नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उपसभामुखलाई राजीनामा दिन पार्टीले आग्रह गरेको हो ।’ पहिला रानजीनामा गरी त्यो बाटो खुलेपछि पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिने उनको भनाइ छ ।

सुशासनसम्बन्धी अर्को जिज्ञासामा उनले सुशासनबिना समृद्धि सम्भव नहुने साँचो भएको भन्दै समृद्धिका लागि सुशासन पहिलो सर्त भएको बताए । उनले भने, ‘सुशासनका लागि राज्य सन्यन्त्र प्रभावकारी बनाउन आवश्यक छ, सरकार त्यस दिशामा अघि बढ्नेछ ।’