नारायणकाजीले गरे कानुनमन्त्रीलाई कारबाहीको माग - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

नारायणकाजीले गरे कानुनमन्त्रीलाई कारबाहीको माग



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङलाई कारबाहीको माग गरेका छन्। आइतबार श्रेष्ठले ट्विट गर्दै  सो माग गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्,’ व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरुका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ। यसको भर्त्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु। साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ।सरकारको गम्भीर ध्यान जाओस्।’

साथै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले  बहालवाला मन्त्री र सत्तामा रहेकाहरुले महिला डाक्टरहरूमाथि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन्। ‘बंगलादेशमा पढ्ने हाम्रा महिला डाक्टरहरूमाथि बहालवाला मन्त्री र सत्ताका क्रोनीहरूले गम्भीर सार्वजनिक अभव्यक्ति दिनु अत्यन्त आपत्तिजनक छ! यसबारे स्वतन्त्र छानबिन होस् र आवश्यक कारबाही  होस्!’ उनले ट्विटरमा लेखेका छन्।

त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मन्त्री तामाङलाई बर्खास्त गर्न र बिएन्डसी संचालक दुर्गा प्रसाईँलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्। उनले ट्विटरमा ‘बंगलादेशमा पढने महिला विद्यार्थीहरुका सम्बन्धमा कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईँका अभिव्यक्ति आपत्तिजनक/अमर्यादित छन्।महिलाहरुको अस्मिता र चरित्रमा आघातपुग्ने गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गर्न र प्रसाईलाई कानुन बमोजिम कारबाहि गर्न माग गर्दछु।’ लेखेका छन्।

मन्त्री तामाङले शनिबार बंगलादेशमा पढ्न जाने नेपाली चेलीहरुले आफ्नो अस्मिता बेच्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए। शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले  भनेका थिए “सर्टिफिकेट पाउनका लागि नेपाली चेलीहरुले काहिँ न काहिँ आफूलाई बेच्नैपर्छ ।हामी हाम्रा छोरी–चेलीहरुलाई पढ्न पठाउछौं तर उसले आफुलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन त्यसैले यहि पढ्न पाउनु पर्छ भन्दा हामी नै प्ले कार्ड लिएर बाहिर निस्कन्छौं। ‘

यसअघि बिएन्डसी संचालक प्रसाईँले सामाजिक सञ्जालमा भिडियो जारी गरि सार्वजनिक रुपमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरुको प्रोफेसरहरुबाट अस्मिता लुटिने विवादस्पद अभिव्यक्ति दिएका थिए।

सो बिषयमा मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएन्डसी सञ्चालक प्रसाईँले तथ्यहीन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकारसमक्ष माग गरेको  थियो।