नारायणी नदीमा दुई वर्षीय बालकको शव फेला

चितवन । नारायणी नदीमा दुई वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नदी किनारमा बालकको शव फेला परेको हो ।
उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै शव फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार, स्थानीय माझीले नदीमा फेला पारेको शवलाई किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए । ‘नदीबाट करिब तीन चार मिटरको दूरीमा स्थानीयले माझीले शव फेला पारेपछि नदी किनारमा निकालेर प्रहरीलाई खबर गरे’ थापाले भन्नुभयो, ‘बालकको शव हेर्दा शरीरमा कुनै चोटपटक समेत छैन ।’
मंगलबार बिहान चार–पाँच बजेको समयमा बालकलाई ज्युँदै खोलामा बगाइएको हुन सक्ने थापाले बताउनुभयो । बालकबारे कुनै पनि जानकारी प्राप्त गर्न नसिकएको थापाको भनाइ छ । बच्चालाई खोलामा बगाएर आमाले समेत आत्महत्या गरेको हुनसक्ने भएकाले थप अनुसन्धान थालिएको थापाले बताउनुभयो ।
मृतक बालक नदीमा घोप्टो परेर रहेको बेलामा नदीबाट बाहिर निकालिएको प्रहरीको भनाइ छ । मुचुल्कापछि मृतक बालकलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

