नारायणीमा पानीको सतह इतिहासकै उच्च: गण्डक ब्यारेजका सबै ढोका खोलियो
चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।
नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भने, ‘सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।’
यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।
नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ । गएराती त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको थियो भने अहिले पानीको सहत घट्दै गएकाले १२ ढोका खोलिएको छ । –रासस