संकट परेको भन्दै नारायणहिटी दरबारभित्र महायज्ञ आयोजना गरिँदै - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

संकट परेको भन्दै नारायणहिटी दरबारभित्र महायज्ञ आयोजना गरिँदै



नारायणहिटी दरबार संग्रहालयभित्र माघ १९ देखि २९ गतेसम्म महायज्ञ लगाइने भएको छ । तत्कालीन राजापरिवारले पूजा गर्ने पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न लागेका हुन् ।

दरबारभित्र पहिलो पटक यज्ञ गर्न लागिएको स्रोतले जनाएको छ । राज विरेन्द्रको निवास श्रीसदस्थित पूजाघर हालः सर्वसाधारणका लागि खुला गरिएको छैन । खुला नै नगरिएको स्थानमा महायज्ञ गर्न नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले स्वीकृति दिएको छ।

समितिका अध्यक्ष तथा पर्यतन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको समितिको पुस १२ गतेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो । ‘यस दरबार परिसरमा श्री सति श्राप मोक्ष धाम र हजुरलाई नमस्ते परोपकारी अभियानको संयुक्त आयोजनामा मिति २०७८ माघ १९ देखि २९ गतेसम्म सती श्राप मुक्ति श्री शिवशक्ति महायज्ञ गर्ने भन्ने निवेदन उपर विचार गर्दा नेपाली सेनासँग समन्वय गरी सीमित मात्रामा भक्तजन प्रवेशको व्यवस्था गरी, संग्रहालयको सुरक्षामा असर नपर्ने गरी स्वीकृति दिने निर्णय गरियो,’ समितिको निर्णयमा भनिएको छ ।

आयोजकले ठाउँ मागका लागि दिएको निवेदनमा ‘राष्ट्रको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउनका लागि सती श्राप मुक्ति श्री शिवशक्ति महायज्ञ गर्ने भएकाले नारायणहिटी राजदरबारभित्रको पूजाघर यज्ञस्थल उपयुक्त हुने’ उल्लेख छ ।

निवेदनमा अभियानका अध्यक्ष ताराबहादुर कुँवर र धामका कोषाध्यक्ष वीरेन्द्रराज दाहालले हस्ताक्षर गरेका छन्। महायज्ञको विषयमा आधिकारिक जानकारी नभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले बताए। ‘मैले पनि सुनेको मात्रै हुँ, आधिकारिक जानकारी छैन,’ उनले भने ।