नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखी पुन: ६ घण्टा बन्द
काठमाडौँ । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।
आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेपनि आजबाट बन्द गरेको हो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ । विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ ।
नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ । सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।फाइल तस्वीर :