को हुन् नयाँ परराष्ट्रमन्त्री नारायण खड्का ? यस्तो छ उनको विगत - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

को हुन् नयाँ परराष्ट्रमन्त्री नारायण खड्का ? यस्तो छ उनको विगत



विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर नारायण खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् ।

खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा खड्का सहरी विकास मन्त्री भएका थिए ।

२०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।

यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।

पार्टीको राजनीतिमा पनि खड्काको उपस्थिति राम्रै छ । काँग्रेसको १२ औँ महाधिवेशनदेखि खड्का केन्द्रीय कार्यसमितिमै छन् । खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ । तर, उनको रुचि भने वैदेशिक मामिला तिरै बढी देखिन्छ । खड्काले वैदेशिक मामिलाबारे दुईवटा किताब लेखेका छन् ।

खड्काले पछिल्लो समय वैदेशिक नियोगका पदाधिकारीलाई देउवासँग भेटघाट गराउने सूत्रधारका रूपमा काम गर्दै आएका थिए । सरकार निर्माणका सन्दर्भमा पनि बाह्य वातावरण मिलाउने भूमिकामा खड्का अग्रसर थिए ।

वैदेशिक मामिलामा रुचि राख्ने खड्काले पछिल्लो समय मित्रराष्ट्रहरूसँग देउवाको सम्बन्ध नवीकरण गर्न राम्रै भूमिका खेलेको काँग्रेस नेताहरू बताउँछन् । योबीचमा देउवासँग विदेशी प्रतिनिधिले गर्ने भेटघाटमा खड्का प्रायः सँगै हुन्थे । संसद् विघटनपछि राष्ट्रिय राजनीतिबारे देउवा र खड्काको धारणा पनि समान थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र नीति खलबल्याएको प्रधानमन्त्री देउवा र खड्काको साझा निष्कर्ष छ । त्यसलाई ट्रयाकमा ल्याउन परराष्ट्र मन्त्रालय काँग्रेसले नै राख्ने नीतिअनुसार नै खड्कालाई परराष्ट्रमन्त्री बनाइएको काँग्रेस नेताहरू बताउँछन् ।