योगेश भट्टराईलाई नारायण गाउँलेको झटारो ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

योगेश भट्टराईलाई नारायण गाउँलेको झटारो !



~~नारायण गाउँले~~

योगेशजी, लोकतन्त्रमा लोकको प्रतिनिधिले शब्दैपिच्छे ‘भीआईपी भीआईपी’ भनेको त्यत्ति राम्रो सुनिन्न । त्यो शब्द सुरक्षा निकायले आफ्नो प्रोटोकल अनुसार प्रयोग गरि नै हाल्छ ।

तपाईं अर्का आशालाग्दा युवा हुनुहुन्छ । बरु यो भीआईपीलाई मात्रै होइन, हरेक उड़ान र गुडानहरूले अनिवार्य रूपमा ‘हेल्थ एन्ड सेफ्टी’ का नियम पालना गर्नै पर्ने नियमको वकालत गर्नुस् न प्लिज । जीवनको मूल्य सबैको एउटै हुन्छ र टार्न सकिने दुर्घटनाबाट कसैको पनि ज्यान नजाओस् भन्नेतिर राज्य सचेत हुनुपर्छ ।

तपाईं विश्व घुम्नुभएको छ । पढ्नु र बुझ्नुभएको छ । विश्वकै असुरक्षित छ हाम्रो सड़क र आकाश । तर यहाँ चल्ने सवारी साधन पनि विश्वकै असुरक्षित छन् । सेफ्टीको नाममा स पनि नभएका गाड़ीलाई नेपाली उपभोक्ता विश्वकै महँगो मूल्यमा किन्न बाध्य छन् । असुरक्षित सड़कमा सबैभन्दा सुरक्षित गाड़ी चल्नुपर्ने होइन ? बेलायतमा हाइएस्ट सेफ्टी फिचरसहित युरो-6 मापदण्डको एउटा गाड़ी दशपन्ध्र लाखमा आउँछ भने नेपालमा एअरब्यागसम्म नभएका गाड़ी पनि किन भित्रिन्छन् र बीसौं लाखमा बिक्छन् ? तिनै कम्पनीले युरोपतिर उही मूल्यमा किन गुणस्तरीय गाड़ी निर्यात गर्छन् र हामीलाई टिनको बाकस पठाउँछन् ?

किन १० सीटे माइक्रोले तपाईंहरूकै आँखा अघि १५ जना बोक्छन् ? किन सार्वजनिक सवारीमा चढ्नै पनि युद्ध जितेको अनुभव गर्नुपर्छ ? किन उही र उस्तै कारणले हवाइ दुर्घटना हुन्छन् ? लण्डनबाट रोम पुग्न दुई हजार रुपियाँ लाग्छ तर किन काठमाडौंबाट नेपालगंज पुग्न छ हजार लाग्छ ?

यो सुरक्षा हेलचक्ऱ्याइँ र ह्या, भइहाल्छ नि भन्ने बानीले नै हाम्रो आकाश र हवाई सेवा कालोसूचीमा परेको हो ।
यो सबै अव्यवस्था तपाईं एक्लैले जन्माएको होइन । हाम्रो सिङ्गो पुस्ताको फोहोर हो यो । तर यसलाई सफा गर्ने दायित्व बोकेर निर्वाचित हुनुभएको हो तपाईं । यदि एउटा हेलीकप्टरले पाँच जनामात्रै भीआईपी बोक्न सक्छ भने सर्वसाधारण पनि पाँच जनामात्रै बोक्नुपर्छ ।

अब रवीन्द्रजीको अकल्पनीय दुर्घटनाले पारेको खाड़ल भर्ने दायित्व तपाईंजस्ता युवाकै हो । त्यो हेलीकप्टरमा भीआईपी या नन भीआईपी थिएनन्, देशका नागरिक थिए । होनहार व्यक्ति थिए । यात्री थिए । अब भीआईपीलाई यस्तो बनाउनुपर्छ भन्ने होइन, उड्डयन सुरक्षालाई यस्तो बनाउनुपर्छ भन्ने सुन्न पाइयोस् !