नेपालको मानार्थ महारथी बन्दै भारतीय सेना प्रमुख: यस्तो हुनेछ तीन दिने भ्रमण
काठमाडौं- भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे कात्तिक १९ गते काठमाडौं आउने निश्चित भएको छ । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आउन लागेका हुन ।
उनी चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने र उच्चस्तरीय वार्ता गर्नेछन् । तीन दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक विशेष समारोह बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा पाउनेछन् । उनले त्यही क्रममा प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको जंगि अड्डाले जनाएको छ ।
तीन दिवसीय भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी थापासँग छलफल गर्नेछन् । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपतिबाट मानार्थ महारथी दिने भए पनि नेपाल र भारतबीचको सम्वन्धमा सैन्य कूटनीतिको एक पाटोको रुपमा समेत हेरिएको छ ।
नेपाल अन्य मुलुकको इशारामा चलेको भन्ने धारणा दिएर विवादमा रहेका भारतीय सेनाध्यक्ष नेपाल भ्रमण हुनु अगावै गुप्तचर निकायका प्रमुख सामान्त कुमार गोयलले प्रधानमन्त्री ओलीसँग भेटेर फर्केको विषय पनि उत्तिकै पेचिलो छ ।
नेपाल र भारतबीच लामो समयदेखि दुईपक्षीय सहकार्यका कैयन कार्यहरु अघि बढ्न सकेका छैनन् । राजदूत र परराष्ट्र सचिव स्तरीय वार्तामात्र अघि बढेको र त्यसपछि गोयलको भ्रमण भएपछि रणवानेको नेपाल भ्रमण हुन लागेको छ ।