नक्सा पास गर्न घुस माग्ने इन्जिनियर ८० हजार घुससहित रुपन्देहीमा पक्राउ
रुपन्देही– रुपन्देहीको सुद्धोधन गाउँपालिकाका ईन्जिनियर र सव– ईन्जिनियर ८० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग नक्सा पास तथा अभिलेखिकरण गरिदिएबापत घुस माग्ने अर्याल र ढुंगानालाई अख्तियारले पक्राउ गरेको हो ।
रुपन्देहीको साविक सौ–फर्साटिकर गा.वि.स हाल शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुंगानाले सेवाग्राहीसँग ८० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।
पुरानो भवनको नक्सा पास तथा अभियलेखीकरण गर्ने कार्यको लागि उनीहरुले सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । शुक्रवार गाउँपालिकाको कार्यालयबाट पक्राउ परेका उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता दंगालले जानकारी दिए ।