कांग्रेसले भन्यो: देशको नक्सा प्रधानमन्त्रीको लाज छोप्ने पछ्यौरी होइन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसले भन्यो: देशको नक्सा प्रधानमन्त्रीको लाज छोप्ने पछ्यौरी होइन



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारत रर पार्टीभित्रबाट आफूलाई सरकारबाट हटाउनुपर्ने अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रष्ट पार्नुपर्ने बताएको छ ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताए ।

‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ । प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ?,’ उनले प्रश्न गरे, ‘छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’

उनले कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको पनि उल्लेख गरेका छन् ।

‘सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिनुस्,’ उनले भनेका छन्, ‘बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनुस् । हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनिय भएन । थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन ।’

त्यस्तै उनले समावेश गरेको नक्सा प्रधानमन्त्रीले दिएको ब्यक्तिगत अटोग्राफ भएको प्रष्ट पारेका छन् ।

शर्माले भनेका छन्, ‘पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी । सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनीतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कूटनैतिक ।’