नक्कली सुन प्रकरणमा नयाँ खुलासा: प्रहरीमाथि नै शंका, संयोजक फेरिए - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

नक्कली सुन प्रकरणमा नयाँ खुलासा: प्रहरीमाथि नै शंका, संयोजक फेरिए



काठमाडौं- काठमाडौंको कमलादीबाट बरामद भएको साढे १४ किलो नक्कली सुन र २ पेस्तोल बरामद प्रकरणमा छानविन गर्न बुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसएसपी संयोजक रहनेगरि बनाएको छानविन समितीका संयोजक फेरिएका छन् ।

बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको हो । महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलका अनुसार थापालाई छानविन समितिको सदस्यमा राखिएको छ ।

दरबारमार्ग वृतका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधाकेजी सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा भने त्यस्तो कुनै घटना नभएको देखिएको बताइएको छ ।

प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलासा भएको श्रोतले जानकारी दियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनास्थल कमलादी भएको दाबी गरेपनि प्रहरीले घटनास्थल कमलादी नभएर सुन्धारा हुनसक्ने अनुमान गरेकाे छ ।

यसबाट प्रहरीले नै नक्कली काम गरेको हो कि भन्ने आशंका जन्मिएको छ । घटनामा प्रयोग भएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो जीप अझै फेला परेको छैन् । उक्त घटनामा संलग्न रहेको आरोपमा अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले तीन जनालाई पक्रेको छ ।