नक्कली बिमा पोलिसी जारी गरेको आरोपमा रेग्मी पक्राउ - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

नक्कली बिमा पोलिसी जारी गरेको आरोपमा रेग्मी पक्राउ



१८ कामदारको नक्कली पोलिसी जारी 

नयाँ पत्रीका : काठमाडौं । नक्कली वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई पक्राउ गरेको छ । वल्र्ड वाइट मेनपावर कम्पनीबाट गत वर्ष मलेसिया गएका १८ जना कामदारलाई रेग्मीले नक्कली पोलिसी जारी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेको भेटिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए । यो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको आर्थिक सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार बिमालाई २०६५ देखि अनिवार्य गरेको छ । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । कामदारको भिसाको अवधि र उमेरअनुसार बिमाशुल्क रकम निर्धारण गरिएको हुन्छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । कामदारको खर्च जोगाउन बिमा समितिले गत वर्षदेखि अभिकर्ता कमिसन पनि हटाएको छ ।

प्रमाणसहित पहिलोपटक पक्राउ
बजारमा नक्कली बिमालेख बिक्री गर्ने एजेन्टहरू रहेको मौखिक गुनासो आउने गरेको बिमा समतिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । उनले भने, ‘यो विषयमा हामीले खोजी गरिरहेका थियाैँ प्रमाणसहित पहिलोपटक नक्कली बिमा बिक्री गर्ने मानिस पक्राउ परेको छ ।’ घटना प्रारम्भिक अनुसन्धानले बजारमा जारी भएको कुल वैदेशिक रोजगार म्यादी बिमामध्ये आधाभन्दा बढी नक्कली भएको अनुमान गरिएको छ ।

यसलाई आधार मान्दा करिब ४ अर्ब रुपैयाँ ठगी भएको हुन सक्ने वैदेशिक रोजगारीको विषयमा अनुसन्धान गर्दै आएका सुशील ढुंगानाले बताए । यस्तो ठगीमा ठूलो गिरोह नै संलग्न रहेकोसमेत उनको अनुमान छ । ‘यो त एउटा केश मात्रै हो । यस्तो हजारौँ हुन सक्छन् । उनी एक्लैले मात्रै हजारौँ पोलिसी बिक्री गरेका छन्,’ उनले भने, ‘यसको अनुसन्धान हुन बाँकी छ केही दिनमा बास्तविकता बाहिर आउला ।’

को हुन् रेग्मी
नक्कली पोलिसी जारी गरेको आरोपमा थुनामा रहेका प्रकाश रेग्मी व्यावसायिक बिमा अभिकर्ता नै हुन् । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।

यसरी थाहा भयो घटना
बल्र्ड वाइट मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका १८ जना व्यक्तिमध्ये धादिङका ४२ वर्षीया गोकर्णप्रसाद विडारी मलेसियामा नै बिरामी परे । बिरामी भएपछि ०७४ भदौमा उनी नेपाल फर्किए । नेपाल फर्किएपछि उनको गृहस्थान धादिङमा नै मृत्यु भयो । त्यसपछि उनकी श्रीमती गोमा विडारीले गत साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा मृत्यु दाबी गरिन् । पोलिसी नम्बर केटिएम ०००३०२११ पासपोर्ट नम्बर ०९५७२१७२ मा बिमाशुल्क ३ हजार ९ सय ७३ तिरेर मृतक बिडारीले साढे तीन वर्षको पोलिसी खरिद गरेका थिए ।

तर, कम्पनीले उक्त पोसिली इन्ट्री नभएको बताएपछि श्रीमती बिडारीले चैत १९ मा बिमा समितिमा उजुरी दिइन् । यस विषयमा बुझ्न समितिले तुरुन्तै कम्पनीलाई पत्राचार गर्‍यो । बिमा कम्पनीले उक्त पोलिसी आफ्नो कम्पनीमा नै इन्ट्री नभएको समितिलाई जानकारी दियो । त्यसपछि समितिले सम्बन्धित मेनपावर कम्पनीसँग सम्पर्क गर्‍यो । मेनपावर कम्पनीले पनि सो अवधिमा जारी भएका सबै पोलिसीको विवरण बिमा कम्पनीसँग माग गर्दा कुनै पनि पोलिसी कम्पनीमा इन्ट्री नभएको भेटियो । बिमा कम्पनीमा नै १८ वटा पोलिसी इन्ट्री नभएको फेला परेपछि नक्कली पोलिसी भएको पत्ता लागेको हो ।