कम्मल ओडेर घ्यु खाने बामपन्थी बाहेक जनताले एमसीसीबारे बुझिसके : कांग्रेस नेता महर - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

कम्मल ओडेर घ्यु खाने बामपन्थी बाहेक जनताले एमसीसीबारे बुझिसके : कांग्रेस नेता महर



काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालका बाम शक्तिहरूको कामकार्यवाहि र चरित्र नेपालको सामाजिक वातावरण बिगार्ने भएको आरोप लगाएका छन् । नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै नेता महरले नेपालका कम्युनिस्टहरूले कुनै पनि मुद्दाको उठान गर्ने र त्यसको पैठान गर्न नसक्ने आरोप लगाएका हुन् ।

‘कम्युनिस्टहरूले कुनै पनि कुराको कार्यान्वयन गर्दैनन् । कांग्रेसले कार्यान्वयन गर्छ । विपी कोईराला पहिलो पटक समावेशी अवधारण ल्याएको र शेरबहादुर देउवाले वैधानिक रुपदिएको प्रसंग उल्लेख गर्दै ,कांग्रेस कुरा धेरै नगरेर काम गर्ने पार्टी हो,’ उनले भने, ‘त्यही भएर कम्युनिस्ट र कांग्रेसमा फरक छ । कम्युनिस्टहरू काम नगरेर जस लिने होडमा लाग्छन् । कांग्रेस काम गर्छ, जस दिने नदिने जनताले हो ।’

उनले १३ प्रतिशत दलित र समग्र समावेशीतालाई कांग्रेसले सधैं अंगिकार गर्दै आएको बताए । १३ प्रतिशत दलित तोकिए पनि योभन्दा बढी दलित राज्यको मूल प्रवाहमा आउनुपर्ने महरको धारणा छ ।

फरक प्रसंगमा बोल्दै नेता महरले कम्युनिस्टहरूले एमसीसीबारे भ्रम छर्न खोजेको भए पनि जनताले बुझिसकेको बताएका छन् । ‘कम्मल ओडेर घ्यु खाने बामपन्थी प्रवृतिका व्यक्ति बाहेक आम जनताले एमसीसीका बारेमा बुझिसकेका छन् । हिजो बिरोध गर्ने बामपन्थीहरू आज एमसीसी बारे जस लिने होडमा छन्,’ नेता महरले भने ।

उनले एमसीसी मात्र नभएर नेपालमा विदेशी मेगा प्रोजेक्ट आउँदा सधै कम्युनिस्टहरूको यही चरित्र झल्किने गरेको बताएका छन् । उनले कम्युनिस्टहरूको यस्तै चरित्रका कारण गाउँ-गाउँमा कांग्रेसको माहोल बन्दै गरेको महरको दाबी छ । उनले यो माहोलमा कांग्रेसले झनै जनताको मनमा पस्नुपर्ने बताएका छन् ।