नैनसिंह महर विरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नैनसिंह महर विरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष



काठमाडौँ : नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ।

मङ्गलवार पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षले विधानविपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक सङ्गठनलाई तानासाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए। नेविसंघकी उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन्।

अध्यक्ष नैनसिंह महरले सङ्गठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टि जनाउँदै सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गरेका थिए।