कांग्रेसले मन जितेपछि मात्र मत जित्छ - महर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कांग्रेसले मन जितेपछि मात्र मत जित्छ – महर



नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचनलक्षित एकमहिने अभियानको अघिल्लो दिन कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके मत आफैँ प्राप्त हुने दाबी गरेका छन् । ‘कांग्रेस देशको जिम्मेवार पार्टी हो। कम्युनिस्टले दुईतिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन् । देश अप्ठ्यारो अवस्थामा पुग्दा कांग्रेसले नै सत्ता सम्हाल्नुपर्‍यो’ उनले भने।

‘नि:शुल्क स्वास्थ्य, शिक्षासंगै सर्वशुलभ यातायात, सञ्चार र उद्यमशीलता-रोजगार, जनताको अधिकार, कांग्रेसको सरकारको आफ्नो एजेन्डा पार्टीमा प्रवेश गरेकाले यसको कार्यान्वयनतर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको बताउँदै उनले कांग्रेसलाई जन-जनको र मन-मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन्। एमालेले गफतन्त्रको बाटो अँगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले कांग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।

‘हामी प्रत्येक वडामा पुगेर जनतालाई कांग्रेसले गरेका सकारात्मक कर्मका बारेमा जानकारी गराउनेछौँ। हामी धेरै बोल्दैनौं। भ्रमको खेती पनि गर्दैनौं। कांग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ’ उनले भने।  महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

केही कारणवश चाहेअनुरूप काम गर्न नसके पनि कांग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए। जनताले दुईतिहाइ मतका साथ विजयी गराए कांग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ।

‘हामी मजदुरको घरमा पुग्नेछौं। बुद्धिजीवीका विचार सुन्नेछौँ । जनताका अपेक्षा सुन्नेछौं। कांग्रेसका योजना सुनाउनेछौं। अब हामी जनतासँग हुनेछौं’ उनले भने। राजनीति जनताका लागि गरिने भएकाले कांग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ। घरघर जाऔं, कांग्रेस जिताऔं अभियानअन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, सात सय ५३ स्थानीय तह र ६ हजार सात सय ४३ वटै वडामा पुग्ने भएका छन्।