माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन सर्कुलर - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन सर्कुलर



काठमाडौं- नेकपा एमालेले विज्ञप्ति नै निकालेर माधव नेपाल समुहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ ।

बिहीबार बिहानै विज्ञप्ति निकालेर एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ्गले अध्यक्ष केपी शर्मा ओली बाहेकले बोलाएको बैठक वैधानिक नरहेको उल्लेख गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।’

उनले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको स्मरण समेत गराएका छन् । माधव पक्षले आज केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

नेपालले पछिल्लो पटक विकसित राजनीतिक विषयको समीक्षा गर्न बिहीबार बिहान ११ बजेका लागि आफू पक्षीय स्थायी कमिटिको भर्चुअल बैठकसमेत बोलाएका छन् ।

यसैबिच अध्यक्ष समेत रहेका ओलीले दिउँसो ४ बजेका लागि स्थायी कमिटि बैठक बोलाएका छन् । त्यसका लागि १९ जना स्थायी कमिटि सदस्यलाई मात्रै निम्ता गरिएको छ । यसअघि बुधबार बैठक स्थगित भएको थियो ।