नाकामा कडाई: काठमाडौं आएका सय बढी गाडी नागढुंगाबाट फिर्ता - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

नाकामा कडाई: काठमाडौं आएका सय बढी गाडी नागढुंगाबाट फिर्ता



काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौँ प्रवेश गर्नेहरुमाथि थप निगरानी आवश्यक रहेकोमा जनप्रतिनिधिहरुले जोड दिएका छन् ।

काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्र केसी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीलगायतका जनप्रतिनिधिको टोलीले आज नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरी नाकामा थप कडाई आवश्यक रहेकोमा जोड दिएका हुन् ।

उनीहरुले बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरुका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नु पर्ने बताएका छन ।

सांसद केसीले नागढुंगाबाट हल्ला भएजस्तो ठूलो संख्यामा मानिसहरु नभित्रिएको भन्दै नाकामा सुरक्षााकर्मी,स्वंयसवेक निरन्तर खटिरहेको बताए ।

काठमाडौं महानगरपालिकाका उपमेयर खड्कीले सरकारी सवारी साधनबाट समेत मानिसहरु काठमाडौं आउने गरेको भन्दै यो क्रम रोकिनु पर्ने बताइन् ।

थानकोट प्रहरीका अनुसार हिजो मात्र अनधिकृत रुपमा काठमाडौं प्रवेश गर्न खोज्ने १ सय तीन वटा सवारी साधनलाई फर्काइएको छ ।

लकडाउनका क्रममा पनि लुकीछिपी प्रवेश गर्नेको संख्या बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।