चेकमा मिति गल्ती लेखिएको भन्दै वडाध्यक्षले गरे नगरपालिका "तोडफोड" - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चेकमा मिति गल्ती लेखिएको भन्दै वडाध्यक्षले गरे नगरपालिका “तोडफोड”



विशाल पाण्डेय /सुखड,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भीम बोगटीले रिसको झोकमा नगरपालिकाकामा तोडफोड गरेका छन् ।

नगरपालिकाले असोज १४ गते नगरस्थित छाडा पशुचौपाया व्यवस्थापन समितिको नाममा ६ लाख ६५ हजार ३५३ रुपैयाँ बराबरको चेक जारी गर्दा जारी भएको चेकको मितिमा २०७५ लेख्नु पर्नेमा २०७३ लेखिएर चेकमा त्रुटि भएपछि नसाटिएकोले अाक्राेशित भएका वडा अध्यक्ष बोगटीले नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको कार्यकक्ष बाहिरको ढोका फुटाएका हुन ।

तर , यता वडा नं ८ का वडा अध्यक्ष भीम बोगटीले ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको भन्दै प्रेस विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा घोडाघोडी नगरपालिकाले २०७५ साल साउन १४ गतेदेखि छाडा पशु चौपाया व्यवस्थापन समितिले वडा नं ८ को सिस्नेरीमा करिब १७ सय छाडा पशुचौपायाको व्यवस्थापन गरिएको छ । उक्त छाडा गाई वस्तु व्यवस्थापनका लागि आवश्यक सामान खरिद तथा हेरालुलाइ पारिश्रमिक दिन नपाइएकोले असोज १४ गते नगरस्थित छाडा गाई वस्तु व्यवस्थापन समितिको नाममा ६ लाख ६५ हजार ३५३ रुपैयाँ बराबरको चेक काटिएको र चेक सटही गर्न जाँदा २०७३ साल लेखिएको पाइएकोले भुक्तानी नहुँदा र गाईबस्तु व्यवस्थापन को रकम भुक्तानी गर्नु पर्ने भएकोले दबाब महसुस हुँदा सामान्य सोधपुछका लागि नगर प्रमुखको कार्यालयमा जाँदा कार्यालय बाहिरको सिसाको ढोका तान्दा सिसा फुटेको स्वीकार गरेका छन् । साथै उनले कुनै गलत नियतले आफूले ढोका तोडफोड नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस्तै वडा अध्यक्ष भीम बोगटीले हिमाल पोस्ट सङ्ग कुरा गर्दै , आफूले जानिजानी नतोडेको बताए । उनले भने , ” कर्मचारीले गम्भीर त्रुटि गरेको कारण सामान्य सुझाव दिनको लागि नगर प्रमुखको कार्यकक्षमा जाँदा बाहिर पट्टीको ढोका खोल्न लाग्दा ढोकामा चुकुल लगाएका कारण बेस्सरी तान्दा फुटेको हो ।” साथै वडा अध्यक्ष बोगटीले ‘कर्मचारीले गम्भीर त्रुटि गरेको बताए । उनले भने, “आज त मितिमा गल्ती भयो , कुनै दिन ६ लाखको ठाउँमा १२ लाख मूल्य लेखियो भने के हुन्छ ? चेकमा लेख्ने तथा हस्ताक्षर गर्ने कर्मचारीले यत्रो सम्मको त्रुटि गर्नु नहुने भनाई रहेको अध्यक्ष बोगटीले बताए ।