अवैधानिक रूपमा नागरिकता बनाउने दुईजना पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

अवैधानिक रूपमा नागरिकता बनाउने दुईजना पक्राउ



सल्यान।अवैधानिक रूपमा नागरिकता बनाएकोे भन्दै सल्यानमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अभिभावकको नाम खुलाउन असहज मानेर अभिभावकको नाममा अर्कैको नाम राखेर नागरिकता बनाउन खोज्ने दुई जना लाई प्रहरीले पक्राउ गरेको हो। अहिले प्रहरीले उनीहरू माथि अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा ३० वर्षीया पार्वती बस्नेत र विशाल बुढाथोकी रहेका छन्।

अवैधानिक रूपमा नागरिकता बनाएको भन्दै दुवै जनाको नागरिकता जिल्ला प्रशासन कार्यालय सल्यानले रद्ध गर्ने र अहिले नागरिकता रद्ध हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए। शारदा नगरपालिका–१३ निवासी भन्दै ३० वर्षीया पार्वती बस्नेतले नागरिकता बनाउँदा आमाको नाममा सोही गाउँको नातेदार महिलाको नागरिकता मागेर पेस गरेको थाहा भएपछि नागरिकता रद्ध गर्न लागेको उनले बताए।

आमा बुवा नभएको बताउँदै पार्वतीले आप्mनो पतिको नामबाट नागरिकता बनाउन खोज्दा आमाको नागरिकता पेस गर्नुपर्ने भएकाले शारदा नगरपालिका–१३ कै दानी बुदाथोकीको नागरिकता मागेर पेस गरेको घिमिरेले बताए। शारदा नगरपालिका–१३ का वडा अध्यक्ष तुल्सीराम रावतले गरेको सिफारिसका आधारमा पार्वतीले यही वर्ष पुस १९ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी थिइन। पछि घटनाबारे थाहा पाए पछि वडा अध्यक्ष स्वयम्ले यस विषयमा प्रहरीलाई खबर गरेका थिए।

यस्तै शारदा नगरपालिका –१ का विशाल बुढाथोकीको पनि नागरिकता रद्ध हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। बुढाथोकीले पनि आमाको नामको नागरिकताको साटो गाउँकै नातेदार महिला सीता बुढाथोकीको नागरिकता पेस गरेको खुल्न आएपछि नागरिकता रद्ध हुन लागेको उनले बताए। विशालले २०७३ साल पुस १३ गते जिल्ला प्रशासन कार्यालय बाट नागरिकता लिएका थिए।