गैरसंवैधानिक अभ्यास गरेको भन्दै सभामुखलाई महाभियोग लगाउन नागरिक अगुवाहरुको अपील - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

गैरसंवैधानिक अभ्यास गरेको भन्दै सभामुखलाई महाभियोग लगाउन नागरिक अगुवाहरुको अपील



काठमाडौं । नागरिक समाजका अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको भन्दै महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन्। सभामुख सापकोटाले संविधान र कानूनका व्यवस्थाभन्दा बाहिर गएर आफूमा निहीत नभएको कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको, पनि उनीहरुको आरोप छ।

सरकारले प्रतिनिधिसभालाई सुम्पेको विधेयक सदनमा पेश गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने गैरसंवैधानिक अभ्यास गरेको र दलहरूप्रति पूर्वाग्रह राखेको आरोप पनि लगाएका छन्। विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल, केदार नर्सिङ के.सी., कनकमणि दीक्षितसहित १४ जना रहेका छन्।

“प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ।” विज्ञप्तिमा सभामुख सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ।

”अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन्। यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन,” विज्ञप्तिमा भनिएको छ, “निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ। अत: अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्न नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेश गर्दछौँ।”