तटबन्ध नहुँदा जनता समस्यामा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

तटबन्ध नहुँदा जनता समस्यामा



अर्घाखाँची । अर्घाखाँची जिल्लाको सीतगंगा नगरपालिका वडा नं. ७ स्थित रान्कास क्षेत्रमा नदी कटानको ठूलो समस्या रहेको छ । सम्बन्धित निकायले यस क्षेत्रलाई बेवास्ता गर्दा यहाँको बस्ती नै जोखिममा पर्ने खतरा बढेको छ । उक्त स्थानमा रहेको सीतखोला नदीले यस क्षेत्रको ठूलो मात्रमा रहेको खेतीयोग्य जमिन कटान गर्नुका साथै यहाँ रहेको बस्तीमा समेत ठूलो असर पारेको छ ।

गत आ.ब.मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १५ गोरुसिंगे कपिलबस्तुले यस क्षेत्रमा सामान्य मात्रामा तटबन्ध गरे पनि हाल भने उक्त कार्यालय बेखबर रहेको छ । उक्त समयमा आगामी आ.ब. अर्थात ०७४÷०७५ मा राम्रो काम गरिदिने आश्वासन दिएपछि उक्त क्षेत्रका बासिन्दा हर्षित भएका थिए तर उक्त नदी नियन्त्रणका लागि परेको बजेट अन्यत्रै खर्च भए पछि निराश भएका छौ उक्त क्षेत्रका बासिन्दा बसन्ती गुरुङ्गले दुःखेसो पोखिन् ।

केन्द्रबाटै सितखोला नदी नियन्त्रण (रान्कास क्षेत्र) समेत भनी किटानीका साथ बजेट परेको भए तापनि उक्त कार्यालयले पहुँचवाला र भनसुनका आधारमा नदी नियन्त्रणको अधिक बजेट अन्यत्रै खर्च गर्ने गरेको स्थानीयबासी जितबहादुर मगरले बताए । यस क्षेत्र अर्घाखाँचीकै उक्त नदीमा पर्ने फाँटहरू मध्येको एक हो । उक्त क्षेत्रमा सिंचाईको राम्रो प्रबन्ध र सही मात्रामा तटबन्ध गरी संरक्षण हुन सके यहाँबाट उत्पादन हुने अन्न बालीले यस क्षेत्रका कानाचौर, साखिने, बाँधलगायतका जनतालाई ठूलो राहन मिल्ने स्थानीयबासी धनबहादुर पुलामीले बताए । यो क्षेत्र अर्घाखाँची जिल्लाको सबैभन्दा विकट क्षेत्र भए तापनि उर्वर भूमिका हिसाबले यस क्षेत्रकै उत्कृष्ट क्षेत्र मानिएको छ । यहाँ करिब ५०० रोपनि जग्गाको समथल फाँट रहेको छ । उक्त क्षेत्रका लागि केन्द्रैबाट बजेट उपलब्ध हुँदाहुँदै पनि सम्बन्धित निकायको गैरजिम्मेवारपनका कारण दिन प्रतिदिन उक्त क्षेत्र नदी कटानले सागुरिँदै गएको छ भने बस्ती समेत पातलिन थालेको छ ।