गाउँ जस्तै फेरिएको रचनाको जीवन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गाउँ जस्तै फेरिएको रचनाको जीवन



 

साउने सक्रान्तिको दिन गाउँमा लुतो फाल्ने तयारी बिहानै देखी सुरु हुन्थियो । नजिकैको खरयानबाट  सल्लाको सुकेको सल्लीपिरल,  मसिना काठहरु र घरमा भएका पुराना कपडा जम्मा  गरि चांग लगाएर कटकुरो आकारको घर गराउने गर्थियौ। पुरानो कपडा लौरोमा  बेरेर आफ्नो लागि एक-एक वटा लुठा नि बन्थे।  बेलुका भए पछि त्यो चांग र लुठोमा आगो लगाई  हामी पल्लो गाउँ तिर फर्केर चिचाउदै भन्थियौ।

“ओई बिरबासे कान्छा हाम्रो सबै लुतो  लैदे !”

आज धेरै वर्ष पछि , म मेरो घरको प्रिय ठाऊ आगनको देब्रे कुनामा रहेको पेटीमा बसेर तिनै  वरीपरीका गाउँहरु हेर्दै थिए। भिरालो पहाडको बिच बाट फोडेर ति गाउँमा मूल बाटो पुगेका छन। ति बाटोमा हिड्ने ठुला ठुला गाडी पनि यहाँबाट  हेर्दा साना कमिला जस्तै देखिने।

तल खहरे खोला बाट घास काटेर उकालो चढ्दै गरेका दृश्यहरु पनि सझिलै  यहाँ बाट देख्न सकिन्छ।  कोहि त्यहिँ  खोलामा धान रोप्दै थिए। ति खोलामा गएर हामी चेपागाडा छोप्दा  माछा छोप्यौ भनेर दंग मान्थियौ।   गोरु र बाख्राको बथान लिएर  चराउन जाने त्यो  हाम्रो बाल दौतरीहरुको  संगम चौतारी  पिपला रुख तिर फ्याट फूट मान्छेहरु  हिड्दै थिए । म मेरो  प्रिय  पेटीको डिलमा बसेर धेरै वर्ष पछि यी सबैकुरा स्पर्श गर्दै थिए ।

लामो समय भएर हो कि , मलाई यो ठाऊ धेरै परिवर्तन भए जस्तो लाग्यो। मैले बाल्यकाल बिताएको यो गाऊ , देशमा आएको राजनीतिक परिवर्तन जस्तै फेरिएको थियो।  देशमा राजनीतिक व्यवस्था बदल्नको निम्ति  आन्दोलन गरेका ति पुराना नेता जस्तै ,एकनाले पछाडीको सुन्तलाको बुटो पनि बुढो भएछ। सुकेर ठिंगरिङ्ग उभिए पनि ठाऊ ओगटेर वरिपरिका अन्य रुखलाई झाङ्गिन दिएको छैन। राता किताब पढेर बन्दुक बोकेका दाई दिदीहरु मुग्लान पसेर गाउँ रित्तै भएछ।  सँगै , हामीलाई दुध खुवाउने काली भैसी र गाई पनि गाउँबाट बिक्री भएर अन्तै पुगेछन। बाख्राको खोरमा न पाठा पाठी थिए , न उनीहरुको जुतो।

 

हजुर बाले पलेटी कसेर सुरुप सुरप गर्दै चिया खाने आगन भरि झारहरु उम्रिएर ढाकेको थियो। घरका धुरी खाबाहरुमा धमिराले घर जमाएर आनन्दसँग बसेका थिए। अत्यास लाग्दो भएछ , काकाको छोरा र मैले धुलो माटो खेल्ने ठाऊ  बाट डोजर हिडेर  चिन्न नसकिने भएछ। सकी नसकी चड्ने आपको रुख , छाला कोतरी कोतरी खाने त्यो ऐसेलु र चौतारीको झाडी पनि बाटो विस्तार गर्ने बाहानामा फाडी दिएछन ।

हाम्रो गाऊ बाट देखिने नजिकैको अर्को पल्लो गाऊमा धान, तोरी पिस्ने मेसिन कूक कुक गर्दै गाऊ थर्काएर आवाज निकाल्दै थियो ।  हामी पनि बाल्यकालमा त्यस्तै नक्कल गर्थियौ।  हामी अर्थात , म, रोहित र रचना। हामी एउटै हजुर बाका नाती नातिना थियौ। तीन भाईका हामी तीन नाती नातिना। उमेर पनि एक-एक वर्षका फरक। हजुरबाका  सबै  नातीनातिना मध्ये हाम्रो तीन जानाको ग्यांग खुब मिल्थियो।  काठ र ढुंगा बटुलेर हामी आफ्नै अन्न पिस्ने मेसिन गराउने गर्थियौ।  रोहित मेसिनले जस्तै कुक कुन गर्दै स्वर निकाल थियो ,रचना हामीले गराएको मेसिनमा ओईरो हाल्थी , म मेसिन चलाउने।   हामी त्यस बेला रमाईलोका लागि खेल्थियौ तर आज तिनै स्मृतिले मानसपटलमा कब्जा जमाएर बसेको छ।

हाम्रो ग्यांगलाई देख्दा बुबा आमाले भन्ने गर्नु हुन्थियो ,” तिमीहरु त कति बाख्राको पुछर खाए जस्तो चक चक गर्छौ।” हुन पनि हामी त्यस्तै थियौ।  घर मुनि भिरालो बारी थियो। बारीमा हिडडुल गर्न सहज होस भनेर एउटा कुनामा केहि नरोपी खाली ठाऊ छोडिएको हुन्थियो । त्यो ओरालो ठाऊको सदुपयोग गर्दै हामी पिसाब गरेर चिप्लो गराउने अनि त्यहिँ माथि चिफलेटि खेल्न गर्थियौ। दश लिटरको फुटेको ग्यालन पायो भने हाम्रो लागि दशैं आए जस्तो हुन्थियो। बिच बाट एक तर्फी काटेर अगाडी बोक्ने भागमा डोरी  बानेर खेल्ने खेलौना गज्जबको हुन्थियो।  त्यसै गरि हामी फाटेको चापल पनि खुब प्रयोग  गर्थियौ , चप्पलको सोललाई गोलाकार रुपले काटेर हामीले  आफ्नै गाडी हुईकाउने गर्थियौ। केहि नपाए बास घारी बाट बासको सुपलाको चिफ़्लेटि गराउने गर्थियौ।

ति दिनहरु सम्झिए , त्यति बेला रचनाले आची गरेर पातीले पुछ्दै आकाशमा उडीरहेको हवाईजाज तिर हेर्दै भनेकी थिई – ” हेर लाटा ! म छिट्टै ठुली भएर ऊ त्यस्तै  हइवजाज चलाउने हो। उसले मलाई लाटा भनेर बोलाउने गर्थी। नामको न्वारन भने आफ्नै हजुरबाले गर्दिएका थिए।पण्डितले गर्दिएको न्वारनको नाम भने बिबेक थियो।

हजुर बाले मलाई बोलाउदा ” ओई लाटा यहाँ आईज भन्ने, त्यहिँ बाट सकेकी थिई रचनाले पनि । मलाई मात्र होइन , उसका बुबाले  हाम्री आमालाई भाउजु भनेर बोलाउने- उसले पनि आफ्नै ठुली आमालाई ठुली भाउजु भनेर बोलाउने गर्थी।

 

सानै देखि रचनाका सपनाहरु ठुला थिए। तर ति सपनाहरु फेरीरहने गर्थे ।  उसले जे देख्थी आफु नै त्यहिँ बन्ने भन्थी। कहिले  मास्टरनी, डाक्टर, पाईलट उसका सपनाहरु धेरै हुन्थिए ।  ठुली कहिले हुन्छु भनेर उसकी आमालाई सोधी रहन्थी। त्यति बेला उसका प्रश्न पनि गज्जबका हुन्थिए , आमा सुर्य किन बिहान मात्र उदाउछ? , राती किन देउतीले अध्यारो गराएको। लाटाको र मेरो सू-सु गर्ने किन फरक। माईली काकी पनि कहिले कहिँ त वाक्क भएर ” यो राडी कति बोलेकी “भनेर गाली गर्थिन।  अनि ऊ रोईदिन्थी।

बाल्यकाल समझदा ,  भुटेको मकै लिएर घर पछाडी आई  लय लगाएर “ओई ! लाटा आईज डाडामा खेल्न जाम “भनेको त्यो ध्वनि तरंगित भयो।  रचना चार- पाच वर्ष अगाडी सम्म सम्पर्कमा थिई।  जब म विदेश गए ऊसँग सम्पर्क टुटेको थियो।  आमा बुबा  बाट उसको बिवाह भएको थाहा पाएको थिए। रोहितले पनि बताएको थियो। रोहित  पनि अहिले अमेरिकामा छ।

हजुर बुवाको मृत्यु पछि हामी बसाई सरी काठमाडौँ तिर लाग्यौ।  रोहित र रचनाको परिवार भने बुटवलमा बसाई सरेको थियो।  बसाई सर्नुको कारण हजुर बुवाको मृत्यु भन्दा गाऊमा राता किताब पढ्नेहरुले माग्ने चन्दा आतंक थियो। घर मै बसीरहेका तम्घास पारीका कुमालहरुलाई सबै जग्गा अधिया गर भनेर छोड्यौ। केहि वर्षमा हाम्रा बारीहरुमा  राता झण्डा गाडे पछि उनीहरुले पनि बिस्तारै गाऊ छाडेर गए।

 

देशमा गणतन्त्र आए पछि बल्ल म मेरो जन्मस्थल आएको थियो। देश बाट पनि टाडा प्रदेश तिर थिए म।  किस्तै किस्ताको जिबन बाच्नु पर्ने अस्ट्रेलियामा।   त्यसैले पनि समय मै आउन चाहेर पनि सकेको थिएन।  अस्ट्रेलियामा आफ्ना बच्चा हुर्कदै गर्दा रचना , रोहितसँग बिताएको त्यो बाल्यकाल झल्झली यादले सताउने गर्थियो। अनि फेरी बाल्यकाल मै फर्किन पाए नि हुन्थियो  भनी  कल्पना गर्थे ।  रचनाले सानोमा म कहिले ठुली हुन्छु भनेर  काकीलाई सोध्ने गर्थी।   उसलाई के थाहा त्यति बेला, ठुलो हुदै जादा जिबनका बोझिला भारीहरु बोक्नु पर्छ भन्ने।

बाल्यकालका स्मृतिहरुमा रमाई रहेको बेलामा नजिकै आएर एउटा आवाज आयो, ” बाबु को हुनुहुन्छ कुन्नि ?” नाकको बुलाकी, घाटीको नौ गेडी ,कानको ढुङ्ग्रि कमर भरी रातो पटुकी र खदरको साडी लगाएकी एउटी बुढी आमैले प्रश्न गरिन। उनी कान्छी कुमालनी थिईन। मैले ठमाई हाले र भने , कान्छी बजै ! नमस्ते !

सायद मलाई चिनिन्न। त्यो सानो चकचके बालक देखेकी उनले , अहिले त म तालु खुईले सम्म भई सकेको थिए ।

नमस्कार फर्काउदै फेरी त्यहि प्रश्न गरिन ” बाबूलाई चिनिन नि मैले ! ”

-म कुडर जेठा बुवाको नाती।

हातको लौरीलाई पेटीमा राख्दै आफु पनि बसिन र भनिन  ‘बाबु त  कस्तो चिन्न नसक्ने हुनुभएछ !  बल्ल ठमाए , अनुहार त जेठा बराजुको जस्तै रैछ।’

– म फिस्स हासे मात्र।

कान्छी कुमालनीको परिवार नै  अर्को गाऊ  बाट बसाई सरी धेरै पहिला हाम्रो गाऊमा आएका थिए।  सबैको काममा सहयोग गर्ने भएर नि सबैले माया गर्थे गाऊमा। कान्छा कुमाल रक्सि खाएर गाऊमा कहिले काहिँ हल्ला गर्थे। तर कान्छी कुमालनी भने मिजासि र सफा थिईन।  हजुर आबैले भनेको सम्झिए ” कुमलनी भएँ पनि कति सफा छे , हाम्रो भन्दा चिटिक्क पारेर घर राख्छे। ” आज पनि कान्छी कुमालनी बजै  उस्तै चिट्टिक परेर हिडेकी थिईन।

बाबु मात्र आउनु भएको कि आमा , बा नि आउनु भएको छ ?

बजैको प्रश्नमा म मात्रै आएको बताउदै भने ” उहाहरुको मिलेन , कुलाईन पुजामा आउछु भन्नु भएको छ।”

रोहित र रचनाको बारेमा नि सोधिन्।  मैले रोहित अमेरिकामा भएको बताए। रचनाको बिहे भै सकेको र आज भोलि धेरै सम्पर्क नभएको भने।

बजैले हाम्रो बाल्यकालको कुरा कोटाउदै भनिन “कति मिल्नु हुन्थियो तपाईहरु सानो हुदा- रचना नानी पनि केटा जस्तै हुनुहुन्थियो ,जोरको तोर गर्ने।” कुमालनी बजैले केहि बेर कुरा गरेर आफ्नो घर तीर लागिन।  जाने बेलामा घरमा चिया खाने निम्तो पनि दिईन।

रोहितसँग एक दुई महिनामा कुरा भई रहेको हुन्थियो। तर रचना, उसको बिवाह भए पछि खासै  सम्पर्कमा थिईन। त्यो जिद्धिलाई यसपाली भेटेर जाने निर्णय समेत गरेको थिए।  खुब जिद्धि सानै देखि।    हामीसँगै गुच्छा , डन्डीबियो , लक्कुढाल खेल्थी। कहिले कहिँ रिस उठ्यो भने , गुच्छा खेल्ने खोपीमा पिसाब गरेर हिडीदिन्थी। मकैको फुलाको प्याकेटमा आउने रेस्लरहरुका फोटो जुदाएर कसले बाजी मार्ने भन्ने खेलमा उसले जितिन भने पिटेर भए नि आफ्ना  ति कार्डहरु लिएर छाडथी।

बदमास पनि उस्तै थिई , देखेको कुरा गर्ने पर्ने।  साउने सक्रान्तिमा डाडा घरे बुबाकोमा खसी काटेको उसले देखिकी रैछ। अरु हामी साना बच्चा डराएर घर भित्र लुकथियौ।  ऊ भने हाफ कट्टुको दुई गोजीमा मस्त हात राखेर सबैकुरा हेर्थी।  त्यहि दिन  सबै देखे पछि , रचना र रोहित भएर  घरमा गई  पालेको बिरालो काटेर, रगत बाटामा थापेर राखेको रैछन।  धेरै पछि सम्म यो कुरा गाऊमा बुढा पाकाहरुले समेत निकाली रहन्थे।

रचनासँग हिड्यो कि केहि न केहि भै रहेको हुन्थियो। एक दिन त्यस्तै रमाईलो घटना भएको थियो। हामीले पाईपको टुक्रालाई गोलो गराएर आफ्नै गाडी बनाई गुडाउदै अर्को गाऊ सम्म पुगेका थियौ। हामी पौवामा बसेको बेला एउटी आईमाईले चाउचाउ खान्छौ भनिन।  हामीले पनि हुन्छ  भन्दै चाउचाउ खाने बहानामा पछि पछि लाग्यौ। अल्लि पर पुगे पछि उनले रचनाको कान समातिन।  ऊ रोई दिई।  रचनालाई फकाउदै ,म चाउचाउ लिएर आउछु तिमी यहि बस भनेर उनी त्यहाँ बाट हिडन। साझ भै सकेको थियो , उनी नफर्किए पछि हामी फेरी त्यहिँ पाईप गुडाउदै घर तिर लाग्यौ। घर पुग्न अझै ५-१० मिनेटको बाटो थियो होला- माईली काकी हामीलाई खोज्दै त्यहाँ सम्म आईपुग्नु भएको रैछ। एक एक थप्पड खाएर चुपचाप उहासँगै घर तीर लाग्यौ।  पछि थाहा भयो , रचनाले लगाएको मुन्द्रा चोर्न ति आईमाईले प्रयास गरेकी रैछिन। यसरी नै गाऊका केहि  केटाकेटि पनि हराएका  रैछन।

रचना आफ्नी दिदी शर्मिलालाई पनि खुब दुख दिन्थी। रचना , म र शर्मिला भएर एक दिन  भकिम्लो साधेर खादै थियौ त्यहि बेला शर्मिलाले हास्दै रचनाको पोल खोलेकी थिई। “हेर बिबेक ! मैले साथीहरुसँग फ्लिम हेर्न जाने भनेर  प्लान गराएकी थिए।  बिचमा आमा भिलेन बनेर रचनालाई पनि सँगै लैजान भन्नु भो। मन मनै रिस उठे पनि लिएर गए। फ्लिम हल पुग्नै लागेका थियौ , एउटा भैयाले पो पो गर्दै आईसक्रिम लिएर आए। रचनेले चटक सुरु गरि -आईसक्रिम किन्दे भनेर। साथीहरु सबैले  छोले समोसा खाने भनेर  मैले पनि दशैंमा टिका लगाएको  पैसा अड्कलेर  लिएर गएकी थिए । अरु पैसा पनि थिएन। साथीहरु र सबै मान्छेको अगाडी भुइँमै सुति दिई।  जति फकाउन खोज्यो त्यति लडीबुडी गर्न लागे पछि आफु भोकै बसेर यो राक्षसलाई  आईसक्रिम किन्दिएकी थिए ।  साथीहरुको अगाडी लाजै मर्नु गराउथि नि।

ठुला ठुला सपना देख्ने चुलबुले रचना।  हक्की स्वभाब कि जिद्धि रचना।  ” ओई ! कहाँ छेस म त यहाँ खल्टुकको बुटामा बसेर खल्टुक खादै छु ! ” यहि भन्छु भनेर फोन गरे।  फोन स्विच अफ थियो।  धेरै प्रायस गरे।  फोन लागेन।  केहि बेर पछि रोहितलाई फोन गरे।  भिडियो कल बाट वरीपरि देखाई दिए। ऊ एकदमै खुशी भयो।  रोहितलाई पनि रचनाको बारेमा  सोधे।  उसले पनि धेरै लामो समय देखि सम्पर्क नभएको बतायो।

साँझ पख म गाऊ तिर घुम्न हिडे।  यो परिचित गाऊमा सबैको लागि मैले परिचय दिनु पर्ने भएको थियो।  सानोमा टाडै बाट बिबेक भन्दै बोलाउने गाउलेहरुले पनि मलाई चिन्न छोडेका थिए।  सायद बुढेसकालले आँखा धमिलो भए जस्तै उनीहरुको स्मृति बाट म धमिलो हुदै थिए।  छलछल बगने पधेरोमा तप तप पानी चुहिने भएको रहेछ।  पधेरा माथिको मन्दिरमा टिंग टिंग बज्ने घण्टी पनि बज्न छोडेछ।  सक्ने विदेश गएछन् , नसके सहर तिर। मेरो बाल्यकालको गाऊ पुरै फेरिएछ।

गाऊसंगै म पनि फेरिएको रहेछु। खल्टुक र चिउरीका पातले दिसा पुछ्ने त्यो बाल्यकालको मलाई ट्वाइलेट पेपर नहुदा गार्हो भएको थियो।  बारीको पुछारमा थचक्क बसेर गालामा हात  राखेर दिसा गर्न सक्ने मलाई, अहिले प्यानमा बस्दा कमोट भए हुन्थियो जस्तो लाग्यो। बारीमा सुकाएका तोरीका पाजामा आगो लगाई दिएर माईली काकीले लखट्दा होस् वा उखु चोरेको देख्दा सिराने काकाले दौड़ाद़ा ढिक ढिक बाट उफ्रने हाम्रो ग्यांगको सदस्य मलाई  आज थोरै उकालो हिड्दा पनि स्वा स्वा भै रहेको थियो। अनि मन मनै सोचे ” गाऊसँगै म पनि फेरिएछु। ”

म गाऊ बाट फर्किएर बुटवल आए पछि रचनाका श्रीमानको नम्बर कान्छी काकी बाट पाए।  अनि फोन डायल गरे, उता बाट पुरुष आवाजले फोन उठाए। ” रचनासँग कुरा गर्न मिल्छ होला? ” मेरो प्रश्नमा रचना काम गर्दै छे भनेर केहि नभनी ढ्याप फोन राख्दिए।  मलाई कता कता डर पनि लाग्यो।  म रचनासँग बोल्न यति तड्पिएको रैछु।  मेरो परिचय वा भिनाजुलाई कुनै सम्बोधन पनि नगरी रचना छ भनेर सोधेछु। त्यस बेलुका उनका श्रीमानले फोन काटे पछि मन उथलपुथल भयो।  रचनाको फोनको प्रतिक्षा गरे , आकाशका चन्द्रमा हराएर सुर्य आउदा सम्म उसको फोन आएन।

राता किताब बोक्नेहरु पनि सत्तामा आई सकेका थिए।  तर पनि त्यहि समूह बाट बिभाजन भएको एउटा समूहको बन्दले गर्दा मैले गाऊको बसाई छुट्टाएर बुटवल आईपुगेको थिए।शर्मिला पनि  बुटवल मै बस्थि।  रोहितको आमा बुवाको बसाई पनि बुटवल कै देबीनगरमा थियो। रचनाको बिवाह भने बुटवल बाट केहि टाडा नवलपरासीमा भएको थियो।त्यसैले पनि गाऊ जाने मौका कमै जुर्थियो।

सिद्धबाबाको पहिरो छिचोल्दै म बुटवल कान्छा काकाको आएको थिए । बैठक कोठामा उखु बारीमा म , रोहित र रचनाको बाल्यकालको तस्बिरले सबैलाई हेरेर बसीरहेको थियो ।  रचनाको श्रीमानले त्यसरी फोन काटे पछि मन उथलपुथल भएको थिए।  कान्छा काकालाई सबै कुरा सुनाए । ऊहाले झन् थप्दै भन्नु भो ” ज्वाई अल्लि कडा रैचन , पुजा पाठमा समेत पठाउदैन। ” भन्सा कोठा बाट स्याउ  र अंगुर लिएर बैठक कोठामा हामी बसेको कुर्चीको अगाडी रहेको टेबुलमा  थाली राख्दै कान्छी काकीले  भन्नु भो ” छोरीको कर्म हो , के गर्नु त ! ” बुढा  सासु ससुरा छन् , आफ्ना सासु ससुरा भए , ज्वाई कि बहिनि ,फुर्सद छैन बरै बाहिर निसक्ने। ” अस्ति हजुर बुवाको श्रद्धमा आउदा आँखा माथि निलो डाम थियो।  रक्सि खाएर कुटेका हुन् कि मैले त सोध्न पनि सकिन।

ति कुरा सुने पछि  ज्वालामुखीका कणहरु  पृथ्वी भित्र उम्लिए जस्तै मेरो मन पनि त्यस्तै  उम्लिरहेको थियो। बिद्रोही स्वभाब कि रचना कसरी सबै सहेर बसेकी छ? झन् झन् उसलाई भेट्ने इच्छा मन भित्र बढ्दै गयो।  उसको घर मै जान खै किन हो मनले मानेन। पुजा पाठमा पनि घर बाट बाहिर नपठाउने उसलाई अब बाहिर भेट्न पनि गार्हो थियो। मनमा यस्तै प्रश्न खेल्दै थिए , हिजोको नम्बरमा फेरी फोन गरे।  हेल्लो! को बोल्नु भयो होला ? मधुरो स्वरमा भने ” म बिबेक , नेपाल आएको छु अनि तिमीलाई सम्झिएको। त्यो मधुरो स्वर केहि खुलेर आयो अनि ऊ खुसी हुदै भनि ” कहिले आयौ  तिमी।” पन्ध्र बिस दिन भयो  मैले जवाफ फर्काउदै हिजो बेलुका पनि फोन गरेको बताए तर ऊ त्यो सुन्ने बित्तिकै रोई। मलाई कुरा अगाडी बढाउन  गार्हो भयो।  मैले उसलाई भेट्न प्रस्ताब गरे उसले पछि फोन गर्छु भन्दै फोन राखी। बेलुका उसले फोन गरेर भनि ” रक्षा बन्धनको दिन शर्मिला दिदिकोमा आऊ त्यहि भेटौला। “छोटो संवादमै हाम्रो कुरा टुंगियो।

तीन दिन पछि रक्षा  बन्धन  थियो। हामी त्यहिँ भेट्यौ। रचना ख्याउटी भै छे , अनुहारमा चायाले छोपेको थियो। केहि भएन भने कुटुला जस्ती गर्ने उसको बोली दबिएको जस्तो भएको थियो। कलेजमा राजनीति गर्ने ऊ दमदार भासण गर्थी तर आज ऊ अर्कै रुपमा मेरो सामुन्ने थिई। तै पनि उसले सबैको अगाडी बनावटी हासो देखाउदै केहि नभएको जस्तो गर्दै थिई।  त्यो भिड भाडमा रचनाको जिबनको बारेमा मलाई कुरा गर्न उचित लागेन। बेलुका ३ बजे तिर ऊ घर जान्छु भनेर सर्मिलासँग बिदा हुदै थिई।  मलाई पनि गए भन्ने इशारा गर्दै थिई। उसलाई कति धेरै प्रश्न सोधुला भनेर बसेको म उत्तर बिहिन हुदै थिए। म पनि त्यहि बाटो हुदै   जाने हो म पुराई दिन्छु भने। उसले असहज हुदै , हुन्छ उसो भए गै हालौ मलाई हतार छ भनि।

हामी बाटोमा जादै थियौ।  मैले भित्र बाटै आट निकालेर सोधे ” ओई ! त के भएकी यस्ती ? , तलाई के भएको छ पुरै फेरिएकी छस त ! ” मेरो प्रश्नले ऊ हुकहुक रुदै भनि  ” तैले मेरो कुरा बुझ्न सक्दैनस बिबेक , म जिउदो लास जस्तै भएको छु।”

उसका आँसुले मलाई भित्रै सम्म झिरले रोपे जस्तै भएको थियो , गाडी चलाउन सम्म गार्हो भयो र मैले उसलाई भने ” कतै बसेर कुरा गरौ न ?”

हामी एउटा सपिङ्ग महलको माथि रहेको रेस्टुरामा गयौ।  त्यहाँ जन्म देखि नै बोल्न नसक्ने वेटरहरुले ईशाराले मेनु देखाउदै थिए। रचना पनि त्यस्तै भएकी थिई आज । केहि कुराले जिब्रो थिचे जस्तो।  ऊ ईशाराले मात्र बोल्थी।कहाँ बाट कुरा सुरु गर्ने  भनेर गार्हो भएको थियो।   त्यहि नै बेला उसको फोनमा घण्टी बज्यो नोकिया १६०० मोडलको पुरानो फोन ब्याग बाट  निकालेर उसले फोन उठाई र भनि ” अब एकछिनमा हिड्छु , यहाँ बाट। ” त्यो फोन उसका श्रीमानको रहेछ।  घर चाडो पुग्नु पर्ने आदेश आईसकेको थियो। यो पुरानो फोन किन बोकेकी ? उसले एकै बाक्यमा जवाफ दिई ” तेरो भिनाजुले अर्को फोन फुटाली दिए। ” किन नि ? मेरो प्रश्नको जवाफमा उसले भन्दै गई। मेरो कथा धेरै लामो छ बिबेक।

त विदेश गएको अर्को वर्ष मेरो बिवाह भयो। उनि पनि राजनीतिक कर्मी थिए, घरमा आमा बुवा बाटै प्रस्ताब आयो।  हुने खाने परिवारमा समाजमा राम्रो प्रतिष्ठा बनाएर बसेका भनेर मैले पनि धेरै कुरा नबुझी बिवाह गरे।  केहि महिना धेरै राम्रो थियो। उनको प्रेम स्नेह म प्रति थियो। परिवार ठुलो थियो। हजुर बुवा -आमा , आमा बुवा र उनकी बहिनि। केहि दिन त सबै कि प्यारी भए तर बिस्तारै सबैले आफ्नो औकात देखाउदै गए। मेरो ब्याचलरको रिजल्ट आएर पढ्छु भनेर घरमा भने तर किन पढ्नु पर्यो भन्ने जवाफ आयो।  मेरो कानुन पढ्ने ठुलो रहर थियो।  त्यस पछि म निराश हुदै गए।  साथीहरुले जागिर गर भनेर सल्लाह दिए।  मलाई ठिकै लाग्यो , मैले यो प्रस्ताब घरमा राखे।  जवाफमा उल्टै यत्रो सम्पति छ, पैसा छ किन काम गर्नु पर्यो भनेर बन्देज लगाई  दिए। दिन प्रति दिन मेरा पखेटाहरु काट्दै गए।  मलाई भुइँमा छट्पटाएर  रमिता हेर्दै छन्।  सर्कसको चरी जस्तो गराएर। एक दिन मैले फेसबुकमा रोहितसँग कुरा गर्दै थिए , त्यहि देखेर फोन समेत फुटाली दिए।  अहिले सबै बाट टाडा भएको छु।  न त बाहिर जान सक्छु न त कुनै माध्यम छ। बिबेक! मेरा पनि क्यौ चाहना थिए तर सबै मरी सके।

उसका यथार्थ सुन्दा, कुनै आशा बिना जीबनसँग लडीरहेकी थिई। तिमीले यति हुदा पनि किन सहेर बसेको ?

-के गर्ने नसहेर? मैले केहि हचिकिनछन् कि भनेर  डिभोर्स दिनु पर्यो भनेर धेरै चोटी भने।  तर मेरो कुरा सुन्दैन्न।  सम्झाउन सम्म सम्झाउदैन्न। हप्ता दिन सम्म खाना नखाएर बस्दा समेत घरमा कसैले सोधेन। धेरै गरि सके , मायाले .रिसले,घमण्डले , आसुले , केहि फरक पर्दैन। ढुँगाको जस्तो छ उनिहरुको मन।  घरमा पालेको कुकुरले बरु खाना खायो खाएन उनीहरुले ख्याल गर्छन।  तर म प्रति त्यहिँ पनि दया छैन त्यो घरमा। घरमा काम गर्ने नोकर जस्तो भएको छु।  एउटा कोठे बेश्या जस्तो।  राती ११ बजे आउछन। मेरो दिन कस्तो भयो. सन्चो छ कि बिसन्चो भनेर पनि सोध्दैनन।  म निद्रामा छु कि भन्ने नि ख्याल हुदैन उनलाई। मलाई कुकुरले सिनो झम्टिए जस्तै उनका हात मेरा दुध माथि हुन्छन र म जिउदो लाश भएर उनि  सिथिल नहुदा सम्म चुपचाप काठको मुढो जस्तो बसीदिनु पर्छ ।  कहिले कहिँ त महिनावारी भएको ४-५ दिन सम्म पनि रक्तश्राब हुन्छ तर उनलाई त्यसको केहि  मतलब हुदैन। उनलाई मेरो भावना होइन मेरो शरीरका मासुका डल्लाहरुसँग मात्र सरोकार छ। कोहिसँग भक्कानो छोडेर रुने सम्म मान्छे छैन।

तिमीले प्रतिकार गर्दैनौ ?

– धेरै चोटी गरे , कहिले कहिँ त ” बिहे गरेर किन लिएर आएको त गर्न नदिने भए सम्मको जवाफ आउछ! ”

हिजो तैले  फोन गर्दा म त्यहिँ नजिकै थिए। तेरो  फोन भन्ने मलाई थाहा थिएन।  फोन काटे पछि तेरो नाठोको फोन आयो – कति छन् नाठा  त्यहि भएर डिभोर्स मागेकी होस् होइन भनेर भने। भिनाजुको यो हर्कतले मलाई झन् रिस उठ्यो।

रचना त युवाहरुलाई उर्जा दिने मान्छे होस्।  याद छ तलाई , तैले युवाहरुलाई नेतृत्वकला सिकाउ थिईस । उनिहरुको अधिकारीको कुरा गर्थिस।  आज आफै यस्तो अवस्थामा ? आफ्नो अधिकारको लडाईमा किन चुपचाप छस?

-सिद्धनत र ब्यबहारमा धेरै फरक रहेछ बिबेक। अझै पनि मेरो समाजको सोच बदलिएको छैन।  म बिद्रोह गरेर घर बाट निस्किए भने मलाई मात्र होइन मेरा आमा बुवालाई समेत गार्हो हुन्छ। मेरो कारणले  ऊहाहरु दुखि भएको देख्न चाहन्न। यहाँ सामाजिक इज्जतको बाहानामा आफ्ना इच्छाहरु भित्र भित्र मार्नु पर्दो रैछ। एउटा नारी बिधुवा भए पछि श्रीमानको नाममा जीबन बिताई दिन्छे तर एउटा पुरुष  कृया नसकिदै अर्को महिलाको खोजिमा हुन्छ।  यो समाजमा बाट मैले अपेक्षा के गरु ?

मैले सहयोग गर्छु , त स्वतन्त्र भएर बाच।  त जस्तै हजारौ महिलाहरुलाई यस्तै चौघेरा बाट निकाल।

-तैले मलाई सहयोग गर्न सक्दैनस बिबेक। तेरो नाम किन बदनाम गर्छस।  भोलि यो समाजले कोसँग सल्केर बाहिर बस्न लागि भनेर भन्ने छ।

काका -काकी सँग कुरा गरिस ?

– कुरा गरे , केहि हप्ता माईत पनि बसे।  तर उहाहरुको लागि पनि छोरीको खुशी भन्दा समाजको ईज्जत प्यारो छ।

तेरा श्रीमान त राजनीतिक मान्छे हुन् , मिडियामा कुरा लिएर आईज ?

–  प्रयास नगरेको होइन , मेरो आफ्नै साथी मिडियामा ठुलै पत्रकार थियो।  उसले मेरा श्रीमानलाई पनि चिनेको थियो। पछि मेरै इस्युमा बार्गेनिंग भएर पैसाको लेनदेन भएछ।

त्यति नै बेला फेरी रचनाको फोन बज्यो, भिनाजुको फोन आई सकेको थियो।  उसले  बाटोमा आउदै गरेको बताएर फोन राख दिई।  अनि मलाई हतारो गर्दै भनि ” घरमा अमाजु र भान्जा भान्जी आएका छन् , घर भरि जुठा भाडाले मलाई पर्खेर बसेका छन् त्यसैले हिड जाऊ।

ऊ नै समाजले के भन्छ भनेर आफ्नो लागि संघर्स गर्न तयार छैन। उसलाई आफ्नो अधिकारीको बारेमा मलाई भन्दा बढी थाहा छ।  फेरी त्यहिँ कुरा कति सोध्नु जस्तो लाग्यो।  उसलाई उसको घर नजिकै छोडदिए। उसलाई छोडेर फर्किदा मनले मनसँग  भन्यो ” जिबनसँग सम्झौता गर्दा उसको जिबन पनि त्यहिँ हाम्रो बाल्यकालको गाऊ जस्तै उराठ लाग्दो भएछ।

-नबिन पन्त