नविना लामा आफै प्रहरीकहाँ पुगेर गुण्डा नाइके छुटाइन ! - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

नविना लामा आफै प्रहरीकहाँ पुगेर गुण्डा नाइके छुटाइन !



काठमाडौँ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै नेकपाका नेताको दवावमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाटै पक्राउ गरेको भन्दै संचारमाध्यमलाई सुचना दिएको केहि घण्टा नबित्दै उनलाई प्रहरीबाट छुटाएर नेकपाका एक नेतृ नविना लामाले लगेकी छिन्।

लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी गरेको जनाएको थियो । परिसरका प्रमुख एसएसपी बिश्वराज पोखरेललाई उदृत गर्दै सञ्चार माध्यमहरुले समाचार समेत प्रकाशन गरेका थिए।

नेपाल प्रहरीको ‘क’ बर्गको गुण्डाको सूचीमा रहेका दावा लामाको सहयोगीका रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौं उनलाई नियन्त्रण गर्न लागिपरेको थियो। उनलाई प्रहरीले नियन्त्रणमा पनि लिइ जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिए पनि लामाले हिरासतमा केहि घण्टा पनि बिताउन परेन।

तर, एसएसपी  पोखरेल त्यतिबेला निरिह बने जतिबेला नेकपाकी सांसद नविना लामा गुण्डा नाइके सत्यमान लामालाई छुटाउन आफै आइन। बेलुका सात बजे नेकपाकी सांसद नबिना लामाको रोहबरमा गुण्डा नाइके सत्यमान लामालाई छाडियो। म्याद थप गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको गुण्डालाई नेकपाको सांसद लामाको दबाबमा छाड्न एसएसपी पोखरेल किन बिबश भए परिसरमा चर्चा भएको छ।

सत्यमानबिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको थियो। आफ्ना विरुद्ध समाचार आएपछि मिडियामा गुण्डा पठाएर समाचार मेटाउन दवाव दिने नविनाले प्रहरीकहाँ पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम दिएर धम्की दिइ गुण्डालाई छुटाएर लगेको परिसर प्रमुख निकट स्रोतले जनाएको छ।

यो घटनाले सांसद नविना लामाको गुण्डाहरुसँगको आशक्ति एकातिर देखाएको छ भने अर्कातिर राज्यशक्तिको दुरुपयोग गरेर राज्यका निकायहरुलाई कसरी पङगु बनाइदैछ भन्ने पनि उजागर भएको छ।