कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिद्वारा हस्ताक्षर अभियान सुरु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिद्वारा हस्ताक्षर अभियान सुरु



५ माघ, काठमाडौं । नयाँ शक्ति नेपालले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ ।

 

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका लागि राखिएको कपडामा दस्तखत गरी अभियानको शुभारम्भ गरे ।

विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन भइसकेको र संविधान जारी भएको एक वर्षभित्र मात्रै तीन वटा सरकार बनेको भन्दै भट्टराईले आर्थिक समृद्धिको सपना र अठोट पूरा गर्न शासकीय स्वरुपमा परिवर्तन गर्नुको विकल्प नरहेको बताए ।

‘जनताको सुझाव पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने थियो’ उनले भने, ‘संसदलाई पूर्ण रुपले समानुपातिक बनाउने र सरकार, जो कार्यकारी हुन्छ त्यो जनताको मतबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ, यो नै नेपालको विशिष्टता अनुसारको उत्कृष्ट मोडेल हो ।’

नयाँ शक्तिले माघ महिना अवधिभर अभियान चलाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य दिएको छ । यो अभियान काठमाडौंसँगै देशव्यापी रुपमा सबै जिल्लाहरुबाट सुरु भएको नयाँ शक्ति नेपालले जनाएको छ ।

onlinekhabar