न दाइको लास देखे, न आमाको सास देखे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

न दाइको लास देखे, न आमाको सास देखे



-कृष्ण के.सी.

कमरेड ! तिमी देख्न सक्छौ ?
थोरैआँट गरेर देख्नु पनि पर्छ

हिजो पो दुश्मनका बन्दुक पड्किदा
निस्किएको कालो तुवालोले
तिम्रा आँखाहरुमा बादल लागेको थियो
आज त त्यस्तो पक्कै पनि छैन

महंगा रेबन चस्मा लगाएर
तिमी मेरो गाउमा आयौ भने
एकपल्ट डाडाघरे सन्तेको घर कुन हो भनेर सोध्नु
बडेमाको रागो ढालेको मेरो घर आँगन तिमीले सजिलै चिन्ने छौ
त्यसरी पनि चिनेनौ भने
कमरेड ! तिम्रै आँखा अगाडि ढलेको
मेरो दाइ जुठे, तिम्रो “सागर” को
आधाउधि बाँकी बचेको
उसले लगाउने डाङ्ग्रिको पत्लुन
अमिलोको बोटमा अँझैपनि तुर्लुङ्ग झुण्डिएको छ
आएर हेर्नु, छाम्नु ,सायदै चिन्छौ कि !

चस्माको धुपछायाले देख्न सकेनौ भने
एकपल्ट त्यसलाई निकालेर हेर्नु
मेरी बहिनी जमुना, तिम्रो ‘जलजला “को
आफ्नै आँखा अगाडि इज्जत लुटिदा
देख्न नसकेर मृत्युबरण गरेकी
मेरी चौरासी काटेकी आमाको
फाटेर धुजाधुजा भएको गुन्यू झुन्डिने दलिन देखेर
सायदै चिन्छौ कि ?

हो कमरेड ! म त्यही सन्ते हो
बन्दुक बोक्न सकिन
सानो थिए, अबुझ थिए
थोरै पढायौ, धेरै घोकायौ
तिम्रा ओढ्ने ओच्छ्यान बोकेर हिड्दा
न दाइको लास देखे, न आमाको सास देखे

क्रान्तिका शहीद भन्यौ
धमिलो फोटोमा माला लगाइदिन भन्यौ
आँखाभरी खुसीको आँसु भरेर
मलाई तिहारमा टीका लगाई दिने
मेरी प्यारी कान्छी बहिनी
जमुनाले रोपेर फुलाएको
गुर्धौली र मखमलीको माला उसैलाई लगाई दिए
हात उठाएर लाल सलाम भन्न भन्यौ
जुरुक्क हात उठाएर
सकी नसकी मुठ्ठी कसेर लाल सलाम भने

कमरेड ! बाटो नबिराई मेरो गाउ आएछौ भने
एक पटक मेरो घरमा पाइला राखेर गैदिनु
रित्तो थोत्रिएको घरमा
मेरी बहिनीको बिहेमा
दाइजो दिउला भनेर राखेको
तामाको गाग्रोको पानी पिएर गैदिनु

कमरेड ! बाटो नबिराई मेरो गाउआएछौ भने
मेरो जुठे दाजुको अर्धांगिनीको
सेतो पहिरन हेरेर गैदिनु
उसको चिनो, टुहुरो छोराको
कन्तबिजोग हेरेर गैदिनु

हो कमरेड ! बाटो नबिराई पाइलाहरू
मेरो गाउमा लागेछन भने
मेरी आमाले बुढौलीमा तान्ने गरेको
माटोको “सुल्फा” हेरेर गैदिनु

म, सन्तेबाट सन्तराम भएको छु
अब त धेरै ठुलो भएको छु
तिम्रो ओढ्ने ओच्छ्यान त अब के बोक्नु पर्ला र !
सिंहदरबारले दिएको महलमा
तिमीले चढ्ने चिल्लो पजेरो
मेरै दाइको जडौरीले पुछ्न पाए पनि
दाजु सन्ते बहिनी जमुना
र आमाकोआत्माले
थोरै भए पनि सान्ती पाउथ्यो कि ?