म्याग्दीमा शिक्षकले गरे छात्रालाई यौन दुव्र्यवहार: प्रअ मिलाउने दाउमा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

म्याग्दीमा शिक्षकले गरे छात्रालाई यौन दुव्र्यवहार: प्रअ मिलाउने दाउमा



म्याग्दी । म्याग्दीका एक शिक्षकले आफूले पढाउने विद्यालयका छात्राहरुप्रति यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक यामवहादुर जिसीले कक्षा ३, ४ र ५ मा अध्ययनरत ८ जना छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको हो ।

शिक्षक जिसीले कक्षा ३ का एक, कक्षा ४ का दुई र कक्षा ५ मा पढ्ने ५ जना छात्राहरुलाई पुस्तकालय, शौचालय र कक्षा कोठामा समेत यौन दुव्र्यवहार गर्ने गरेको पीडित छात्रा र उनीहरुका अभिभावकहरुबाट जानकारी पाएपछि आफूले शिक्षक जिसीसंग सोधपुध गर्नुका साथै अनुसन्धान गर्न समय लागेकोले ढिला गरी उक्त घटना सार्वजनिक भएको विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर कार्कीले बताए ।

प्रअ कार्कीका अनुसार जिसीले पछिल्लो पटक भदौ २१ गते पनि छात्राहरुलाई यौनजन्य दुव्र्यवहार गरेका थिए । तर, उक्त घटना भदौ ३१ गते मात्र सार्वजनिक भएको थियो । जिसीले पीडित छात्राहरुका संवेदनशील अंगमा छुने, चिमोट्ने, मुसार्ने र त्यसो गर्न नदिएमा रिसाउन गरेको गुनासो पीडित छात्रा र उनीहरुका अभिभावकहरुबाट आएको प्रअ कार्कीले जानकारी दिनुभयोे ।

तर एक हप्तासम्म पनि त्यति ठूलो र संवेदनशील घटनाको बारेमा विद्यालय व्यवस्थापन समितिलाई प्रअ कार्कीले कुनै जानकारी नै नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

घटनाको बाहिरबाटै जानकारी पाएपछि आइतवार स्थानीय जनप्रतिनिधिको रोहवरमा विद्यालयका शिक्षक, पीडित छात्रा र उनीहरुका अभिभावकहरुसंग आकस्मिक बैठक बसी  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले वडाअध्यक्ष हिरावहादुर थापामार्फत प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुखलाई घटनाको बारेमा मौखिक जानकारी गराइएको बताए ।

पीडित छात्राहरुले शिक्षक जिसीबाट आफूहरुमाथि पटक पटक दुव्र्यवहार हुने गरेको बताउँदै शिक्षक जिसीलाई कारबाहीको माग गरेका छन् । शिक्षक जिसीलाई विद्यालय व्यवस्थापन समितिले कारबाही नगरेमा आफूहरु त्यस विद्यालयमा नपढ्ने चेतावनी पीडित छात्राहरुको रहेको छ ।

पीडित छात्राका अभिभावकहरुले पनि शिक्षक जिसीलाई कारवाही नगरी विद्यालयमा राखेमा आफ्ना नानीबाबुहरु विद्यालयमा नपठाउने चेतावनी दिएका छन् । त्यसैगरी महिला मानवअधिकारकर्मी ज्योति लामिछानेले घटना साँचो ठहरिएमा पीडक शिक्षकमाथि कारबाही हुनेपर्ने माग गर्दै घटनाको सत्यतथ्य विवरण बाहिर आउनुपर्ने बताएका छन् ।

घटनाको विषयलाई लिएर बुधवार विद्यालयमा आयोजना गरिएको छलफलमा शिक्षक जिसीले आफूले नियतवस त्यस्तो गल्ती गरेको नभई अन्जानमा गल्ती हुन पुगेको स्वीकार गर्दै विद्यालय व्यवस्थापन समितिले गर्ने निर्णयलाई आफूले मान्ने बताए ।

बुधवार विद्यालय व्यवस्थापन समिति,स्थानीय जनप्रतिनिधि, स्थानीय वासिन्दा,पीडित छात्राहरुका अभिभावक, छात्रा र विद्यालयका शिक्षकहरु सहभागि बैठकले शिक्षक यामवहादुर जिसीले बालबालिकाहरुप्रति अशोभनीय दुव्र्यबहार गरेको ठहर गरीे शिक्षक जिसीलाई विद्यालयको हितलाई ध्यानमा राखेर असोज १३ गतेसम्म सरुवा हुने वा अन्य उपयुक्त विकल्पको छनोट गरी निकास दिन निर्देशन सहितको जानकारी  गराउने निर्णय गरेको छ ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर कार्कीले विद्यार्थीलाई दुव्र्यवहार गर्ने शिक्षक यामवहादुर जिसीलाई विद्यालयमा आन्तरिकरुपमा घटना मिलाउने निहुँमा छिपाउने प्रयास गरेको बुझिन आएकोले प्रअ कार्कीको सहमतिमा अर्को सक्षम र योग्य प्रअको नियुक्ति अनुकुल समयमा गर्ने निर्णय गरेको छ ।