मुस्कान खातुन अस्पतालमै पुगेर पवित्रालाई भनिन: ‘हिम्मत नहार्नु’
काठमाडौं- मुस्कान खातुनले अस्पताल पुगेर पवित्रा कार्कीलाई हिम्मत नहार्न भन्दै हौसला प्रदान गरेकी छन् ।
बिहिबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई आज बिहानै कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेर खातुनले हौसला प्रदान गरेकी हुन् । उनले पवित्रालाई हौसला दिँदै भनिन्, ‘रोएर हिम्मत हानु हुँदैन । रोयो भने अपराधीहरूको झन हौसला बढ्छ ।’
त्यस्तै खातुनले सरकार समक्ष घटनाका दोषी मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् । पवित्रालाई भेट्न अस्पताल पुगेकी मुस्कान खातुन स्वयं एसिड प्रहारकी पीडित हुन् ।
बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे कार्कीमाथि एसिड प्रहार भएको थियो ।