अस्ताए सहारा घरका ‘मुस्कान बा’

विशाल पाण्डेय/कैलाली –
अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको ठाउँ हो सहारा घर । पुर्व पश्चिम् राजमार्ग बाट करिब २.५ किलोमिटर उत्तरपट्टी रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरमा अनाथ र असहाय व्यक्तिहरुले सहारा लिइरहेका छन् ।
त्यहीँ सहारा घरका सदस्य करिब ९० वर्षिय ‘मुस्कान बुवा’ ले सोमबार सधैका लागि सबैलाई छोडेर गएका छन् । सहारा घरमा पुगेका जो कोहिले पनि त्यहाँ बस्ने मुस्कान बुबालाई नभेटी फर्किदैनथे ।
तीन बर्ष अघि गोदावरी नगरपालिका-२ अत्तरीया बजारमा अति दर्दनाक अवस्थामा भेटिएको उनलाई जनप्रतिनिधि तथा प्रहरीको राेहाेवरमा सहारा घरमा ल्याइएको थियो ।
करिब ९० बर्ष पुगेका वृद्धको नाम ,ठेगाना समेत थाहा नभएको सहारा घरका संचालक बल बहादुर बिष्टले बताए । नाम थाहा नभएपनी उनले सहारा घरमा ‘मुस्कान बुवा ’ भनेर सबैले चिन्ने गरेको संचालक बिष्टले बताए । एकदमै चिन्ताजनक अवस्थामा ल्याइएको उनलाई सहारा घरमा लालनपालन गरेपछि बिस्तारै ठिक हुँदै गएपनी सोमबार बुवाको मृत्यु भएको बिष्टले बताए ।
बिष्टको जन्मदिनमा ‘मुस्कान वुवा’ को अन्त्यस्टि
सहारा घरका संचालन बल बहादुर बिस्टको सोमबार आफ्नो जन्मदिनको परेको हुँदा बिहानै आफ्नो बुवा आमाको हातको टीका लगाउन घर पुगे । टीका लगाउन घर पुगेका बिस्टले न त बुवा आमाको हात को टीका लगाए न त आशीर्वाद नै लिए । उनी हतार हतार गर्दै सहारा घर फर्किए र शव लैजाने तयारीमा जुटे ।
मृतकको टिकापुर अस्पतालमा पोस्टमार्टमपछि सहारा घर संचालक बिष्टले सोमबार राती हिन्दु परम्परा अनुसार दाहमट्टी गरिएको जानकारी दिए । हालसम्म १० जनाले सहारा घरमा शरीर त्याग गरेको बिष्टले जानकारी दिए ।
जनप्रतिनिधिले सहयोग गरेनन्
सोमबार बिहान मुस्कान बुवाको मृत्यु भएपछि भावह्विल बनेका बिस्टले शवलाई पोस्टमार्टमका लागि टिकापुर लैजाने सोच बनाए । शवलाइ अस्पताल लैजानको लागि एम्बुलेन्सको जोहो गर्न लागे ।
बिष्टले एम्बुलेन्स वा सवारी साधन सहयोगको लागी विभिन्न स्थानीय तहमा गुहारे पनि कसैले नसुनेको गुनासो गरे । उनले भने, ‘सरकारले गर्नुपर्ने काम ब्यक्तिले गरेको छ । विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाइ आफ्नो सहारा घरमा पठाउछन् । तर , पटकपटक स्वास्थकर्मी ,एम्बुलेन्स र शव बाहनको अभाव भयो भन्दा कसैले सुन्दैनन ।’
सहारा घरमा खानेपानी ,स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी , एम्बुलेन्स तथा शव बहानको एकदमै अभाव भएको भन्दै पटकपटक व्यवस्थापनका लागि आग्रह गर्दा पनि आस मात्रै दिएको बताउदै बिष्टले कुनै तहको सरकारले नसुनेको दुखेसो पोखे ।
पोस्टमार्टमका लागि सवारी साधनकाे अनुरोध गर्दा पनि ब्यवस्थापन गार्हो भएपछि कैलाली उद्योग बाणिज्य सँघका पुर्व अध्यक्ष कर्ण कुवरले ट्याक्टरको व्यवस्थापन पछि पोस्टमार्टमका लागि लगिएको भन्दै कुवरलाई धन्यवाद दिए ।
२०७० सालमा एक मानसिक रोगिलाई सहारा दिएर संचालनमा आएको सहारा घरमा हाल ८२ जना मानसिक रोगिहरु रहेका छन् भने ८४ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काइएको छ ।

