आईपीएलमा मुम्बई इन्डियन्सले बनायो नयाँ रेकर्ड - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

आईपीएलमा मुम्बई इन्डियन्सले बनायो नयाँ रेकर्ड



काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले रेकर्ड बनाएको छ । मुम्बईले आइपिएलको इतिहासमै पहिलो पल्ट लगातार ६ पटक हारेर रेकर्ड बनाएको हो ।

आज भएको खेलमा मुम्बईले लगातार छैटौं हार बेहोरेको छ। साँझ सकिएको खेलमा मुम्बईले लखनउ सुपर जाइन्टसँग १८ रनले पराजित भएको हो।

लखनउले ४ विकेट गुमाएर दिएको २०० रनको विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ रन बनाउन सक्यो। टोलीसँगै खराब प्रदर्शन जारी राखेका कप्तान रोहित शर्माले आज पनि ६ रनभन्दा बढी बनाउन सकेनन्।

मुम्बईका सूर्यकुमार यादवले ३५ रन बनाए। यता लखनउका अभेस खानले तीन विकेट लिए। लखनउका कप्तान केएल राहुलले ६० बलमा १०३ रनको शतकीय पारी खेले। उनले यस क्रममा पाँच छक्का र ९ चौका प्रहार गरे। आईपीएल करिअरमा यो उनको तेस्रो शतक हो।

त्यस्तै मनिष पाण्डले ३८ तथा क्विन्टक डिककले २४ रन जोडे।

आईपीएल इतिहासमा मुम्बईले शुरुदेखि लगातार ६ ओटा हार बेहोरेको यो पहिलो पटक हो। लखनउले भने ६ मध्ये ४ ओटा जित निकालेको छ।