अब मुक्तिनाथसम्म केवलकार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब मुक्तिनाथसम्म केवलकार



काठमाडाैं– धार्मिक दर्शन तथा भ्रमणका लागि मुक्तिनाथ जानेलाई अब सहज हुने भएको छ। केवलकार चढेरै मुक्तिनाथ पुग्न सकिने भएको हाे।

लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शन प्रालिबीच वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालनका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

बुधबार बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अरुणकुमार सुवेदीले एमओयुमा हस्ताक्षर गरे। आयोजनाको लागत करिब ३५ करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब ४० अर्ब रुपैयाँ) अनुमान गरिएको छ ।

उक्त कम्पनीले मुक्तिनाथ केवलकार प्रणालीमा करिब ८४ किलोमिटर लामो केवलकार बनाउनेछ।

पूरा केवलकार लाइनमा आधा दर्जन स्टेसन रहनेछन्। जसमा वीरेठाँटी-घोरेपानी-तातोपानी-लेते-मार्फा-जोमसोम-कागवेनी-मुक्तिनाथ छन्।

केवलकार निर्माणसम्बन्धी प्रस्ताव गत बैसाखमै बोर्डले स्वीकृत गरेको थियो। अबको १८ महिनाभित्र कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी बोर्डमा पेस गनुपर्ने एमओयुमा उल्लेख छ।