काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय - Himal Post Himal Post
  • १७ फाल्गुन २०८२, आईतवार
  •      Sun Mar 1 2026
Logo

काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय



मंसिर १४,मुगु – नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको घरलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम विहीबार नेपाली सेनाले निस्कृय पारेको छ।

विहीबार विहानै छायाँनाथ रारा नगरपालिका १ स्थित मल्लको घरको आँगनमा शक्तिशाली प्रेसर कुकर बम राखिएको थाहा पाए पछि सुरक्षा निकायमा खबर गरिएको थियो । बम राखिएको हल्ला पछि गाउँमा पुरै त्रास उत्पन्न भएको थियो।

बम राखिएको खवर पछि नेपाली सेना, र नेपाल प्रहरीको टोली गाउँमा पुगेको थियो। नेपाली सेनाको बम विस्पोजल टोलीले मध्यान्ह १२ बजे बमलाई घर देखि दुई सय मिटर टाढा लगी सुरक्षित तरिकाले बम विस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचनको समयमा गाउँ गाउँमा जाँदा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँग सौहार्दपूर्ण कुराकानी भएको र बम राख्ने अरु नै समूह हुनसक्ने पूर्व शिक्षा राज्य मन्त्री मल्लले बताए । घरका परिवार पार्टी कार्यकर्ता गरे पचास जना सुतेका र राती बम विस्फोट हुन नपाएकाले ठूलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ । बम राखिएको घटनाबाट आफू दु्खी भएको र सुरक्षाको कुनै अनुभूति गर्न नसकेको मल्लले बताएका छन्।