एकैछिनमा खरानी भयो मुगुको गमगढी बजार - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एकैछिनमा खरानी भयो मुगुको गमगढी बजार



मुगु- मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा १७ घर जलेर खरानी भएका छन्।

गएराति साढे १२ बजे शुरू भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय ठिन्ले लामाको घरमा बालेको दियोबाट आगो सल्केर आगलागी भएको पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्रबहादुर भट्टराइले बताए।

स्थानीय बासिन्दा र सुरक्षाकर्मी तत्काल उद्धारमा खटिएकाले मानवीय क्षति हुनबाट भने जोगिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्।

आगलागीमा १७ घर र ३ वटा घुम्ती पसल खरानी भएका छन्। त्यससँगै करोडौंको धनमाल, जिन्सी सामान, व्यापारिक सामान जलेर नष्ट भएको डीएसपी भट्टराईले बताए।

कसको घरमा कति क्षति भयो भन्ने यकीन विवरण आउन बाँकी छ। अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताए।