हावाहुरीले मृत्यु हुनेको संख्या २७ पुग्यो (विवरण सहित) - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

हावाहुरीले मृत्यु हुनेको संख्या २७ पुग्यो (विवरण सहित)



आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा दर्जनौं मानिसको मृत्यु भएको छ ।

अहिलेसम्म २७ जनाको विवरण प्राप्त भएको र मृतकको संख्या बढ्न सक्ने प्रदेश– २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बारामा मात्रै २६ जनाको शव फेला परेको छ ।

हुरीका कारण घरहरू भत्किएका, रुख ढलेका, विद्युतीय पोल ढलेकाले त्यहाँ च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले बताए । बाराको तेलकुवा, भलुही, स्वर्ण गाउँपालिका, फेटापुरेनिया, हर्दिया र पर्शुराम, धर्मनगर, पर्सौनी लगायत गाउँमा धेरै क्षति पुगेको उनले बताए ।

मृतकमध्ये फेटा–१ भारबलियाकी रुनी देवी (२४), मनोरमा देवी (४५), हरिनारायण दास (६०), नन्दलाल पटेल (६), भारत पूर्वी चम्पारन आदापुर घर भई बारा पर्सौनी गापा बस्ने आचेलाल माझी (५५), कलैया उपमहानगरपालिका–१८ की गढिया देवी (५०) र फेटा ६ पुरैनियाकी रुबी खातुन (१३) को पहिचान खुलेको पत्रकार सुरेश बिडारीले बताए ।

त्यसैगरी पर्सामा १ जनाको मृत्यु भएको छ । हुरीले चैनपुरमा बस पल्टेर वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका सरोज रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आइतवार साँझ करीब साढे सात बजे आएको विनाशकारी आँधीबेरीमा परी बारामा २६ जनाको मृत्यु भएको छ ।

ती जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले आइतवार बेलुकीदेखि नै उद्धार गरिरहेको छ ।

बारा र पर्साका विभिन्न स्थानमा गरी ४०० जना घाइते भएका छन् । घाइतेमध्ये १५० जनाको वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल र गण्डक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।