मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरि सार्वजनिक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरि सार्वजनिक



कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका छ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुईजना र चोरीका मोटरसाइकल किन्ने थप चारसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

बर्दगोरिया गाउँपालिका–४ बाट मङ्गलबार उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत बरामद मोटसाइकल चोरी गर्ने र मोटरसाइकल किन्ने गिरोहलाई सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रनाउ सिंहले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भजनी नगरपालिका–८ खैलाड्का १९ वर्षीय सागर चौधरी, बर्दगोरिया गाउँपालिका–४ नौनियाँका १८ वर्षीय रोहित चौधरी, चोरीका मोटरसाइकल खरिदमा संलग्न भएको आरोपमा नौनियाँकै २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए ।

टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरमा रु १० देखि १५ हजारमा मोटरसाइकल बेच्ने गरेको प्रहरीले जनाएको छ ।

सागर टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा कक्षा ११ र रोहित टीकापुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

प्रहरीले उनीहरूबाट जोशीपुर गाउँपालिका–४ का जयराज चौधरीको से४प ४४६१, जानकी गाउँपालिका–८ का धनसिंह चौधरीको से६प १९०४, इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा भानुभक्त जोशीको से१प ५ ४८९०, विष्ट आयल स्टोर टीकापुरमा कार्यरत चन्द्रबहादुर चौधरीको से५प ३९७३ र टीकापुर नगरपालिका–१ ब्लक नं ३० का योगेन्द्र बमको से५प १८२४ र अर्को नम्बर नखुलेको मोटसाइकलसमेत बरामद गरेको छ ।

उनीहरूलाई आज मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत कैलालीमा लगिएको जनाइएको छ ।

टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ । लोकान्तर बाट