मोष्ट वान्टेटको सूचीमा रहेका रेशम चौधरीद्वारा आत्मसमर्पण
धनगढी । कैलाली जिल्ला अदालतमा सांसद समेत रहेका रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन् ।
उनले सोमबार कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भए पनि उनी ०७२ भदौमा भएको टीकापुर घटनाका मुख्य योजनाकार भन्दै प्रहरीको मोष्ट वान्टेटको सूचीमा रहेका थिए ।
त्यतिबेला एक बालक र सात सुरक्षाकर्मी मारिएका थिए ।
त्यसपछि उनी फरार रहँदै आएका थिए ।
दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामामार्फत् राजपाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए ।
उनी कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन् । उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्।
चौधरीका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याएकी थिइन् ।
चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको थियो। ‘फरार’ चौधरीले सपथको दिन नजिकिदै गर्दा एकाएक अदालतमा आत्मसर्मपण गरेका हुन् ।