नेकपाकै केन्द्रीय सदस्य प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेकपाकै केन्द्रीय सदस्य प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा



काठमाडौं । सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी जारी गरेको हो ।

ति केन्द्रीय सदस्य हुन्, दोलखा गौरीशंकर गाँउपालिका–१ का गंगा कार्की (विश्व) । उनीसँगै दोलखा नेकपाका नेता शंकर लामालाई पनि पक्राउ पुर्जी प्रहरीले जारी गरेको नेता कार्कीले बताए ।

२०५२ साल माघ २ गते तत्कालीन माओवादीले ‘जनयुद्द’ सुरु गर्ने बेला पार्टी नीति अनुसार नै कब्जामा लिएको विस्फोटक पदार्थलाई आधार बनाई ‘खरखजना चोरी मुद्दा’ मा प्रहरीले अहिले कार्की र लामालाई पक्राउ पुर्जी जारी गरेको हो । दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन त्यक्तिबेला तत्कालीन माओवादीले कब्जामा लिएको थियो ।

त्यही विस्फोटक पदार्थको प्रयोग गरी माओवादीले २०५२ फागुन १ मा कतिपय स्थानमा विस्फोट गराएको थियो र जनयुद्दको उद्घोष गरेको थियो ।

०५३ जेठमै उक्त विस्फोटक पदार्थ चोरी गरेको अभियोगमा माओवादी नेता पूर्णबहादुर खड्का, हेमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुसहित रितबहादुर खड्का (युद्धकै क्रममा मारिएका माओवादी केन्द्रीय सदस्य), गंगा कार्की (विश्व) र शंकर लामालाई प्रहरीले मुद्दा चलाएको थियो ।

प्रक्राउ परेका दुई जनाले दोलखा जिल्ला अदालतको आदेशमा १० वर्षको कैद भुक्तान गरेका थिए। अहिले त्यही आधारमा कार्की र लामालाई फैसला कार्यान्वयनको नाममा प्रहरीले वारेन्ट पुर्जी जारी गरेको हो ।

प्रहरीले वारेन्ट पुर्जी जारी गरिएका कार्की र लामा दुवैको सम्पत्ति रोक्का गरेको छ। प्रक्राउ पुर्जी जारी भएपछि नेता कार्कीले यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्थायी समिति सदस्य हरिवोल गजुरेललगायत नेतालाई जानकारी गराएका छन्।

दाहाल र थापाले सत्य निरुपण आयोगले यो मुद्दालाई किनारा लगाउने आश्वासन दिएको कार्कीले बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।