विश्वकप जिताएका ईओन मोर्गन बने कोलकाता नाइट राइडर्सको कप्तान - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विश्वकप जिताएका ईओन मोर्गन बने कोलकाता नाइट राइडर्सको कप्तान



एजेन्सी– विकेटकिपर दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोड्ने भएका छन् ।

कार्तिकले कोलकाताको कप्तानी इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल कप्तान ईओन मोर्गनलाई दिएका छन् । कार्तिकले आफ्नो ब्याटिङमा बढि ध्यान दिन कप्तानी छोड्ने निर्णय लिएका हुन् । कार्तिकको कप्तानीमा कोलकाताले जारी आइपिएलमा ७ खेलमा ४ मा जित र ३ मा हार सहित अंक तालिकामा चौथो स्थानमा छ ।

मोर्गनको कप्तानीमा गत वर्ष इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप उपाधि जितेको थियो । सन् २०१८ मा कोलकाताले कार्तिकलाई कप्तान बनाएको थियो । कार्तिकले कोलकाता सर्वाधिक सफल कप्तान गौतम गम्भीरको स्थान लिएका थिए । कार्तिकको कप्तानीमा कोलकाता त्यसवर्ष प्ले अफ सम्म पुगेको थियो ।

सन् २०१९ मा भने पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । त्यसवर्ष कप्तानी गर्दै कार्तिकले आइपिएलमा ४ सय ९८ रन बनाएका थिए । कार्तिकले जारी आइपिएलमा ७ खेलमा १ सय ८ रन बनाएका छन् ।

मोर्गनलाई गत अक्सनमा कोलकाताले ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले सन् २०१६ मा टि२० विश्वकप फाइनल समेत खेलेको थियो ।

ठूलो सटका लागि परिचित मोर्गन वर्तमान समयमा अन्तर्राष्ट्रिय क्रिकेटका एक सर्वोत्कृष्ट कप्तान हुन् । मोर्गनको कप्तानीसँगै कोलकाताले जारी आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ । कोलकाताले आज मुम्बई इन्डियन्ससँग खेल्दै छ ।