इंग्ल्यान्डका कप्तानको मनोबल गिराएको त्यो लज्जास्पद हार - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

इंग्ल्यान्डका कप्तानको मनोबल गिराएको त्यो लज्जास्पद हार



एजेन्सी — गत वर्षको विश्वकपमा न्युजिल्यान्डसँग भोग्नुपरेको लज्जास्पद हारले आफ्नो मनोबल निकै गिरेको र तल्लो स्तरमा पुगेको इंग्ल्यान्डका कप्तान इयान मोर्गनले खुलासा गरेका छन् । त्यसयता इंग्ल्यान्डको टोलीले ठूलै छलाङ मारिसकेको छ । टोली विश्वकपको सेमिफाइनल नजिक पुगिसकेको छ ।

बुधबार चेस्टर–ली–स्ट्रिटमा हुने इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेल विजेताले सेमिफाइनल निश्चित गर्नेछ । तर पराजित भएमा इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अरु टोलीमा अल्झने छ । पाकिस्तानले शुक्रबार बंगलादेशलाई पराजित गरेमा र न्युजिल्यान्डसँग पराजित भएमा इंग्ल्यान्ड बाहिरिने छ ।

विश्वकपको सेमिफाइनल नजिकसम्म पुग्न इंग्ल्यान्डले लामो यात्रा तय गरेको छ । विशेष गरी चार वर्षअघिको विश्वकपमा न्युजिल्यान्डले वेलिङ्टनमा इंग्ल्यान्डलाई केवल १ सय २३ रनमै अलआउट गरेको थियो । न्युजिल्यान्डले झिनो लक्ष्य १२.२ ओभरमै पुरा गर्दै खेल २ सय २६ बलअगाडि नै सकाएको थियो । उक्त विश्वकपको फाइनलमा भने टोली अर्को आयोजक अस्ट्रेलियासँग पराजित भएको थियो ।

न्युजिल्यान्डले २०१५ को विश्वकपमा जसरी खेलेको थियो त्यसले मोर्गनलाई निकै प्रभावित पारेको थियो । मोर्गन आफैं त्यतिखेर पनि ५० ओभरको खेलमा इंग्ल्यान्डका कप्तान थिए । ‘मेरो मनोबल निकै झरेको थियो त्यो हारले,’ मोर्गनले भने, ‘एउटा कप्तान र एउटा खेलाडीका रूपमा पाएको त्यो हार पार्कमा जस्तो निकै अपमानजक थियो ।’

‘न्युजिल्यान्डले असल मानव, खेललाई अझ कसरी उकास्न सकिन्छ र आफ्नै शैलीमा खेलेर खेल जित्नुपर्छ भनेर प्रमाणित गरेको थियो । यसले विश्वमा धेरै राष्ट्रको आँखा खोलिदिएको थियो,’ मोर्गनले अगाडि भने, ‘मलाई लाग्छ विश्वकपमा त्यो लुटपाट जस्तै क्षणले सबैको ध्यान तानेको थियो ।’

त्यसयता इंग्ल्यान्डले आक्रामक क्रिकेट खेल्दै एकदिवसीय वरीयतामा नम्बर एक टोली बनेको थियो । अस्ट्रेलिया र श्रीलंकासँग लगातार दुई हारपछि टोलीको शीर्ष वरीयता भारतले खोसेको थियो । त्यही भारतमाथि इंग्ल्यान्डले पछिल्लो खेलमा ३१ रन जित हात पारी सेमिफाइनल पुग्ने आशा ब्युँत्याएको थियो ।