रिना मृत्यु काण्ड : मोरङ तनावग्रस्त, नगरपालिका र प्रहरी कार्यालयमा ढुंगामुडा - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

रिना मृत्यु काण्ड : मोरङ तनावग्रस्त, नगरपालिका र प्रहरी कार्यालयमा ढुंगामुडा



विराटनगर : मोरङको पथरी बजार तनावग्रस्त बनेको छ। पथरी शनिश्चरे नगरपालिका–१ मा बस्ने रिना बस्नेतको मृत्यु प्रकरणको विषयमा पथरी बजार तनावग्रस्त बनेको हो ।

घटनाको विरोधमा आफन्त र स्थानीयलेसुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो। प्रहरीलाई भीड नियन्त्रणमा लिन हम्मेहम्मे परिरहेको छ। बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि स्थिति असामान्य बनेको हो।

संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका स्थानीय बासिन्दाले आज बिहानैबाट टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन र आन्दोलनका कारण राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार र पसल पूर्णरुपमा बन्द छन्।

प्रहरीले डेरा बसेको घरको तीन तलामाथि खसेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइरहँदा आफन्त र स्थानीय बासिन्दा भने हत्या नै भएको दावीसहित आन्दोलित बनेका छन्।

प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले घटनालाई मोड्ने प्रयास गरेको प्रहरीले आरोप लगाएका छ।  घटना भएको चार दिनसम्म पनि सत्य तथ्य पत्ता नलगाएको र दोषीलाई पक्राउ नगरेको भन्दै घटनाको विरोधमा स्थानीयले सोमबारबाट आन्दोलन थालेका हुन्।

घटनाको सत्यतथ्य पत्ता लगाउनु पर्ने, दोषीलाई कारवाही हुनु पर्ने लगायतका माग राखेर आक्रोसित बन्दै आन्दोलनमा होमिएका स्थानीयले मंगलबार इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

घेराउका क्रममा आन्दोलनमा उत्रिएकाहरु नगरपालिकाको कार्यालयको गेट तोडफोड गरेका छन् । उनीहरुले पथरीशनिश्चरे –१ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालावन्दी गर्दै नगरपालिका घेउरा गरेका छन्। नगरपालिकाको गेट तोडफोड गरिएको छ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गरेका छन्। घेराउ गर्दै ढुंगामुडा गर्न थालेपछि आन्दोलनमा उत्रिएका र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भए पनि यकिन विवरण प्राप्त हुन सकेको छैन। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइहेको प्रहरीले जनाएको छ।