मोरङमा स्थानीयबासी र प्रहरीबीच झडप, एसपीसहित २० जना घाइते - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मोरङमा स्थानीयबासी र प्रहरीबीच झडप, एसपीसहित २० जना घाइते



मोरङको लेटाङमा शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार गरेको विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपमा एक जना महिला प्रहरी गम्भीर घाइते भएकी छन् । झडपमा महिला प्रहरी उर्मिला श्रेष्ठ गम्भीर घाइते भएको र उनलाई कोसी अस्पताल लगिएको छ ।

झडपमा अन्य १७ प्रहरीसहित २० जना घाइते भएका छन् । एसपी जनार्दन जीसी पनि घाइते भएका छन् । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित स्थानीय र विद्यार्थीले ती शिक्षक र जनप्रतिनिधिलाई विद्यालयमा थुनेका थिए ।

उनीहरूलाई थुनेर आक्रोशित स्थानीयले आगो लगाउने प्रयास गरेको जानकारी पाएपछि प्रहरी विद्यालयमा पुगेको थियो । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेर ल्याउन लाग्दा स्थानीयले रोकेको थिए । प्रहरीले विद्यालयमा बन्धक बनाइएकाहरूको उद्धार गरेको थियो भने आरोपीलाई पक्राउ गरेको थियो ।

तर, स्थानीयले प्रहरी घटना सामसुम पार्न लागेको भन्दै आरोपित शिक्षक आफ्नो जिम्मा लगाउन भनेका थिए । प्रहरीले शिक्षक उनीहरूको जिम्मा लगाउन नमानेपछि उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेको प्रहरीको भनाइ छ ।

‘लेटाङमा एक जना शिक्षकले विद्यार्थीलाई मिस बिहेभ गरेको भनेर इस्यु उठेको केस हो । प्रहरीसँग दोहोरो झडप भयो’, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नवीनराज राईले प्रहरीतर्फ एसपीसहित १८ जना र पब्लिकतिर २ जना घाइते भएको बताएका छन् ।