विश्वमै असफल भएको मोनोरेल नेपालमा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विश्वमै असफल भएको मोनोरेल नेपालमा



काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल चलाउने बताइरहेका बेला पूर्वाधारविज्ञहरूले भने विभिन्न देशमा मोनोरेल असफल भइसकेको बताएका छन् । क्वालालम्पुर, जकार्ता, मुम्बईलगायत ठूला शहरमा मोनोरेल चलाउँदा सरकारले ठूलो घाटा बेहोर्नु परेको अनुभव रहँदारहँदै यी दुई महानगरले मोनोरेल चलाउन तयारी थालेको उनीहरूको भनाइ छ ।

केही दिनअघि चिनियाँ कम्पनी चाइना रेल्वे कन्ष्ट्रक्शन कर्पोरेशन (सीआरसीसी)ले ३ महीना लगाई उपत्यकामा मोनोरेल सञ्चालनसम्बन्धी पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरलाई बुझाएको थियो । प्रतिवेदनअनुसार चक्रपथमा मोनोरेल चलाउन सम्भव देखिएको छ । २७ दशमलव २ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालन गर्न रू. १ खर्ब १६ अर्ब लाग्ने अनुमान कम्पनीको छ । मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न ६ महीना लाग्ने र ३ वर्षमा निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

पूर्वाधारविज्ञ सूर्यराज आचार्यले अन्तरराष्ट्रिय जगत्को अभ्यासको अध्ययन, पर्याप्त सूचना र सुझबुझविना मोनोरेल चलाउन खोज्नु गैरजिम्मेवारी र दुर्भाग्यपूर्ण हुने बताए । प्रभावकारी यातायात व्यवस्थापनका लागि मास ट्राञ्जिट (मेट्रो प्रणालीअन्तर्गत भूमिगत सबवे, सतह रेल, आकाशे पुलको रेल, बस र्‍यापिट ट्राञ्जिट, लाइन रेल, अटोमेटिक गाइडेन ट्राञ्जिट र मोनोरेललगायत प्रविधि भए पनि अन्तरराष्ट्रिय जगत्मा असफल भएको मोनोरेल छानिनु दुःखद भएको बताए ।

रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले विनागृहकार्य मोनोरेल सञ्चालनका लागि साना र साँघुरा सडक नछानी चक्रपथजस्तो फराकिलो बाटो छान्नु गलत भएको बताए ।

उनले भारत गएका बेला आफूले मुम्बईमा धेरै ठूलो रकम खर्च गरेर बनाइएको मोनोरेल कबाडी भएर थन्किएको देखेकाले नेपालमा त्यस्तो गल्ती नगर्न सुझाव दिएको स्मरण गरे । ‘मोनोरेल असफल हुनुमा अत्यधिक मर्मत खर्च, कम क्षमता र लागत बढी हुनु हो,’ उनले भने । उनले मेट्रो रेल प्रतिकिलोमिटर जमीनमाथि ४ अर्ब र जमीनमुनि ८ अर्ब रुपैयाँमा बनाउन सकिने हुँदाहुँदै दीर्घकालीन सोच नलिई मोनोरेल बनाउन लागिएको भनी आश्चर्य प्रकट गरे ।

उनका अनुसार उपत्यकामा जापानको प्याडेको जापान कन्सल्टेन्सीले शहरी यातायातमा सुधारका लागि तयार गरी दिगो शहरी यातायात आयोजनामा बुझाएको प्रतिवेदनमा समेत मेट्रोरेल उपयुक्त हुने उल्लेख छ । फोहोर व्यवस्थापनसम्म गर्न नसक्ने महानगरले दलालको पञ्जामा परी मोनोरेल बनाउने नाममा सरकारी पैसा दुरुपयोग गर्न लागेको आरोप लगाए ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेट्रो रेलभन्दा ८० प्रतिशत कम लागतमा बन्न लागेको मोनोरेलले जाम कम गर्ने बताए । उनले हाम्रोजस्तो सानो ठाउँ र थोरै जनसङ्ख्यामा मोनोरेल उपयुक्त हुने बताउँदै मेट्रो रेलका लागि १ करोड जनसङ्ख्या आवश्यक पर्ने बताए । उनले बनाइने भनिएको मोनोरेलको लागत करीब रू. १ खर्ब ३ अर्ब भएको जानकारी दिँदै आयोजना सरकार–निजीक्षेत्र (पीपी) मोडलमा हुने जानकारी दिए ।