मोहनबिक्रम फेरि मसालको महामन्त्री : उमेर ८५ वर्ष कार्यकाल ५० वर्ष - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

मोहनबिक्रम फेरि मसालको महामन्त्री : उमेर ८५ वर्ष कार्यकाल ५० वर्ष



काठमाडौं -नेकपा मसालमा झण्डै ४५ बर्षदेखि महामन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्दै आएका मोहनबिक्रम सिँहले आगामी पाँच बर्षका पुन पार्टी महामन्त्रीको जिम्मेवारी पाएका छन्। बाह्र बर्षपछि काठमाडौँको पश्चिमी क्षेत्र थानकोटमा भएको सो पार्टीको आठौँ महाधिवेशनले सिँहलाई पाँच बर्षका लागि पुन महामन्त्री चयन गरेको हो।

प्रत्येक पाँच बर्षमा महाधिवेशन हुने पार्टी विधानमा उल्लेख भएपनि राजनीतिक संक्रमणका कारण २०६३ यता सो पार्टीको महाधिवेशन हुन सकेको थिएन। लामो समय मसालको नेतृत्वमा रहेका सिँह भदौ २०३१ मा पहिलो पटक तत्कालिन नेकपा चौँथो (महाधिवेशन) को महामन्त्री चयन भएका थिए।

चौँथो महाधिवेशनमा विभाजन आएपछि सिँहले केही समय मोहन बैद्य (किरण), पुष्पकमल दाहाल प्रचण्ड) सहितका नेताहरु रहेको तत्कालिन नेकपा (मशाल) को नेतृत्व गरे। तर, मशालमा पनि विभाजन आएपछि उनी नेकपा (मसाल) को महामन्त्री बने। मशालको महामन्त्रीबाट विस्थापित गरिएपछि २०४२ मा पार्टी विभाजन गरी उनी नेकपा (मसाल) को महामन्त्री बनेका थिए। तर, दुर्गा पौडेलसँगको विहेका कारण विवादमा परेपछि उनले पार्टी महामन्त्रीबाट राजीनामा दिए । सिँहको स्थानमा रामसिँह श्रीषलाई महामन्त्री बनाइएको थियो।

नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालिन एकता केन्द्रसँग एकता प्रक्रियासँगै उनी पार्टी महामन्त्रीमा पुनस्र्थापित भए र नेकपा (एकता केन्द्र–मसाल) को महामन्त्री बने। समयक्रममा सिँह–श्रेष्ठबीच मतभिन्नताका कारण पार्टी विभाजन भयो, श्रेष्ठ नेतृत्वको समूह नेकपा (माओवादी) मा एकिकृत भयो। सिँहले पार्टीको नाम नेकपा (मसाल) नै राखेर पार्टीको नेतृत्व गरिरहे।

बाग्लुङ, प्यूठान, अर्घाखाँची लगायतका जिल्लामा प्रभाव रहेको सिँह नेतृत्वको मसाल ४० को दशकसम्म सबैभन्दा ठूलो वामपन्थी दलको रुपमा मानिन्थ्यो।

तर, नेकपा (माले) उदय र २०४८ को आमनिर्वाचन बहिस्कार गर्ने निर्णयसँगै दलको प्रभाव विस्तारै घट्न थाल्यो। नेता–कार्यकर्ताहरु अर्काे कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम तीब्र भयो।