प्रचण्डसँग एकता हुँदैन बरू पूर्वराजासँग सहकार्य हुनसक्छ: मोहन वैद्य - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रचण्डसँग एकता हुँदैन बरू पूर्वराजासँग सहकार्य हुनसक्छ: मोहन वैद्य



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले आफ्नो पार्टी राजतन्त्रका पक्षमा नरहे पनि पूर्वराजासँग सहकार्य भने हुनसक्ने बताएका छन् । पूर्वराजाले राजतन्त्र र श्रीपेचको मोह त्याग्ने हो भने कार्यगत एकता हुन सक्ने भनाइ वैद्यको छ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘हामी राजतन्त्र ब्युँझाउने पक्षमा छैनौं, संघीय जनगणतन्त्रको पक्षमा छौं। पूर्वराजाले श्रीपेच र राजतन्त्रको मोह त्याग्ने हो भने राष्ट्रिय स्वाधीनताका पक्षमा एकता हुन सक्छ।’

महासचिव वैद्यले केही समयअघि राजतन्त्रका बारेमा प्रसारित अन्तर्वार्तालाई लिएर भ्रम फैलाइएको बताए। उनले भने, ‘हामी गणतन्त्रवादी हौं भनेर भन्दै आएका छौं। अन्तर्वार्तामा राजतन्त्रका बारेमा केही कुरामा बोलेको थिएँ। सहकार्य हुने भयो भनेर होहल्ला मच्चाइएको मात्र हो।’

एमसीसीबारे जनतालाई भ्रम छर्ने काम भइरहेको उनले बताए। वैद्यले देशभक्त र वामपन्थीले एमसीसीको विरोध गरिरहे पनि त्यो अपर्याप्त रहेको धारणा राखे। उनले भने, ‘एमसीसी अमेरिकाको सैन्य योजनाअनुसार अघि आएको हो।’ यसमा आफ्नो दलका पनि केही कमीजोरी रहेको उनले बताए। उनले भने, ‘एमसीसीबारे सच्चा क्रान्तिकारी र जनताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

माओवादीसँग तत्काल एकता सम्भव नभएको उनले बताए। उनले भने, ‘पुरानो संविधानलाई हामी स्वीकार गर्न सक्दैनौं। तर प्रचण्डहरू संसदीय व्यवस्थाका संरक्षक हामी हौं भनेर हिँडिरहेका छन्। पुरानो व्यवस्था स्वीकार गर्नेहरुसँग एकताको सम्भावना छैन।’

पार्टी एकताका लागि लामो समयदेखि प्रयास जारी रहेको वैद्यले जानकारी दिए। उनले भने, ‘सिंगै पार्टीबीच एकताको सम्भव देखिएको छैन। उनले सच्चा क्रान्तिकारीहरु एकातिर र अवसरवादीहरु अर्कोतिर भएर कम्युनिस्ट पार्टीमा धु्रवीकरण हुने उनले बताए। वैद्यले भने, ‘सच्चा क्रान्तिकारीहरू एकातिर भएर पार्टी एकीकरण हुन्छ।’

वैद्यले संसदीय व्यवस्थामा हुने चुनावलाई परिस्थितिको विश्लेषण गरेर उपयोग गर्न सकिने उनले बताए। उनले भने, ‘परिस्थिति हेरेर चुनाव बहिष्कार गर्दै आएका छौं। अबको चुनावमा पनि त्यही हुनेछ।’ उपयोग वा बहिष्कार गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकले टुंगो लगाउँछ।

वैद्यले कम्युनिस्ट पार्टीलार्ई एकजुट बनाएर नयाँ खालको आन्दोलनमा जानुपर्ने बताए। उनले वर्तमान राजनीतिक पद्धति र नेताहरूबाट देश र जनताले लामो समयदेखि भोग्दै आएका समस्या समाधान हुन नसक्ने भन्दै एकजुट भएर नयाँ आन्दोलनमा जानुको विकल्प नभएको बताए।

पत्रकार सम्मेलनमा वैद्यले भने, ‘देशमा जातीय समस्या छ। किसानका समस्या छन्। संघीयता भने पनि पुरानै संरचनाअनुसार चलिरहेका छन्। यी सबै समस्या समाधानका लागि आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ।’ उनले क्रान्तिकारीहरु विभिन्न धारामा विभाजित भए पनि सबैलाई एकजुट भएर नयाँ आन्दोलनमा लाग्नुपर्नेमा जोड दिए। उनले भने, ‘अहिलेका पार्टी र पद्धतिबाट केही हुनेवाला छैन। नेपाली जनताले लामो संघर्ष गरे तर प्रतिफल केही पाएका छैनन्। त्यसैले आन्दोलनमा लाग्नुको विकल्प छैन।’