बारुदी सुरुङका बीच फुटबल सिकेका अब्बल फुटबलर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बारुदी सुरुङका बीच फुटबल सिकेका अब्बल फुटबलर



फर्नान्डो डुआर्टे/बीबीसी

जब उनी ६ वर्षका थिए तब उनका हजुरबुवालाई गोली हानिएको थियो । उनको परिवार युद्ध क्षेत्रमा शरणार्थी थिए । उनी ग्रेनेडको बिस्फोटका बीच हुर्किए । उनका प्रशिक्षकका अनुसार उनी फुटबल खेल्न निकै कमजोर थिए । तिनै मोड्रिचले आफ्नो देश क्रोएशियालाई पहिलो पटक फुटबल विश्वकपको फाइनलमा पुर्याइदिए ।

फुटबल विश्वकपको फाइनलमा पहिलो पटक क्रोएशिया पुगेपछि मस्कोको लुजनिकी स्टेडियम बाहिर उनका एक प्रशंसकले मेक्सिकन पत्रकारसँग कुरा गरे ।

जब यी फुटबल प्रशंसक ज्याकब मोटिससँग आइतबार हुने फाइनलमा  क्रोएशियाको फ्रान्ससँगको चुनौतीबारे प्रश्न सोधियो तब उनी यसबारे पटक्कै चिन्तामा थिएनन् किनभने आफ्नो टीम फाइनलमा पुगेको कुरा उनले विश्वास गर्न सकिरहेका थिएनन् ।

उनी भन्छन्, ‘तपाईं लुका मोड्रिचलाई चिन्नुहुन्छ नि ? उनी बारुदी सुरुङका बीच फुटबल खेल्थे । उनीजस्तै हामी पटक्कै डराएका छैनौं ।’

१७ वर्षका यी प्रशंसक ९० को दशकमा आफ्नो देश जन्मिएको कहानी सुनेर हुर्किएका हुन् ।

यद्यपी, उनको प्रतिक्रियामा एउटा कल्पना छ तर यो वास्तविकताभन्दा धेरै पर पनि छैन ।

मोड्रिच ती केही युवकमध्ये एक हुन् जो क्रोएशियाली फुटबलको इतिहास सुनौलो अक्षरमा लेखिरहेका छन् ।

उनी र उनको टीमका केही खेलाडीले आफ्नो बाल्यकालमा रक्तपातपूर्ण संघर्ष र सन् १९९१ मा युगोस्लावियाको पतनलाई देखेका छन् ।

स्लोवेनिया र क्रोएशियाको एकतर्फ स्वतन्त्रताको घोषणापछि यूगोस्लावियाली सेनाको रक्तपातपूर्ण प्रतिक्रिया भयो ।

विस्थापन र निर्वासनः

त्यतिबेला पूरा इलाकामा फैलिएको साम्प्रदायिक हिंसाका कारण उनको टीमका अर्का साथी वेद्रन कोर्लुका (टीमका सबैभन्दा प्रसिद्ध खेलाडीमध्येका एक) पनि क्रोएशियामा एक शरणार्थीको रुपमा बस्न बाध्य भए ।

थुप्रैले देश छोड्नु पर्यो जस्तै इभान र्याकिटिच – उनी आफ्नो परिवारसँग स्विटजरल्याण्डमा गएर बसेका थिए ।

क्रोएशियाका लागि खेल्नुअघि बार्सिलोनाका यी स्टार फुटबलर स्विटजरल्याण्डका लागि थुप्रै जूनियर क्याटगोरीमा प्रतिनिधित्व गरिसकेका छन् ।

द प्लेयर ट्रिब्यूनमा छापिएको एक लेखमा मोड्रिचले लेखे, ‘बाल्कनमा के भइरहेको छ, बाल्यकालमा यो बुझ्न मुश्किल थियो ।

उनले स्विकारे, ‘मेरा आमाबुवाले कहिले पनि मलाई र मेरो भाइसँग युद्धबारे कुरा गर्नुभएन किनभने यसमा उहाँहरुले आफ्ना धेरै  आफन्त गुमाउनुभएको थियो । यद्यपी, हामी भाग्यमानी रह्यौं ।’

आफ्नो बाल्यवस्थामा बिस्थापित अर्का एक खेलाडी हुन् मारियो मान्द्जुकित्श जसको निर्णायक गोलका कारण इंगल्याण्डविरुद्ध सेमिफाइलमा क्रोएशियाले जित हाँसिल गर्यो । उनी जर्मनीमा आफ्नो परिवारसँग हुर्किएका हुन् ।

तर मोड्रिच भने आफ्नै देशमा बस्नुपर्यो । हुन त प्रतिद्वन्द्वीको रुपमा उनले बारुदी सुरुङको सामना गर्नुपरेन तर सर्बियाली सेनाको बमबारी समाप्त भएपछि उनले जेडारको सडकमा खेल्नुपर्यो ।

मोड्रिचजस्ता बालक खतरनाक इलाकामा पुग्ने जोखिम भएकाले शरणार्थी क्याम्पबाट धेरै टाढा नजान सल्लाह दिइन्थ्यो ।

सन् २००८ मा मोड्रिचले युद्धबारे भनेका थिए, ‘म ६ वर्षको मात्र थिएँ  । त्यो साँच्चै नै निकै कठिन समय थियो । मलाई राम्रोसँग याद छ तर यसबारे म सोच्नै चाहन्नँ ।’

उनले थपे, ‘युद्धले मलाई बलियो बनायो । म न त यसलाई सम्झन चाहन्छु न बिर्सन नै ।’

युद्धबाट प्रभावित अरु पनि फुटबल खेलाडीः

यस्तै प्रकारको याद डिफेन्डर डेजान लोवरेनसँग पनि छ ।

युद्धका कारण उनको परिवार पनि बिस्थापित भएर जर्मनी जानु पर्यो तर त्यहाँ उनीहरु शरणार्थी बन्न सकेनन् र सन् १९९० को दशकमा क्रोएशिया फर्कन बाध्य भए ।

लोवरेनले आशिंक रुपमा आफ्नो मातृभाषा बिर्सिसकेका थिए जसका कारण उनले स्कूलमा समस्या भोग्नुपर्यो ।

‘जब म सिरिया र अन्य देशका शरणार्थीलाई देख्छु तब मेरो पहिलो प्रतिक्रिया हुन्छ, ‘हामीले उनीहरुलाई एउटा मौका दिनुपर्छ,’’ उनले भने ।

‘अरुका कारण सुरु भएको युद्धको उनीहरु हिस्सा बन्न चाहँदैनन् त्यसकारण त्यहाँबाट भाग्ने गर्छन्,’ उनी भन्छन् ।

यद्यपी, क्रोएशियाका सबै मानिसहरुको सोच यस्तो छैन ।

गत फेब्रुअरीमा छापिएको एक रिपोर्ट अनुसार एम्नेस्टी इन्टरनेशनलले केही पुलिस हिंसाको उदाहरण दिँदै क्रोएशियाली सरकारले देशमा अवैध रुपमा आएका आप्रवासीलाई प्रभावकारी तरिकाले शरणको प्रस्ताव नदिएको आरोप लगायो ।

करिब ४१ लाख जनसंख्या भएको क्रोएशिया सन् १९५० मा ब्राजिललाई हराउने उरुग्वेपछि विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो ।

इंगल्याण्डविरुद्ध सेमिफाइनलको दिन जुटरंजी पत्रिकाले एक सम्पादकीय प्रकाशित गरेर खेलाडीलाई रगत, पसिना र एकताका साथ लड्न सुझाएको थियो ।

यसमा लेखिएको थियो, ‘यदि मिलेर एकसाथ काम गरे सानो देशले पनि ठूलो काम गर्न सक्छ ।’

देशकी राष्ट्रपति कोलिन्दा ग्रेबर किटारोविक आफैंले उक्त भूमिका निभाइरहेकी छिन् । क्वार्टर फाइनल प्रतिस्पर्धाको क्रममा राष्ट्रिय टीमको जर्सीमा उनी प्रोटोकल तोडेर रुसका राष्ट्रपति दिमित्री मेदवेदेवको अगाडि क्रोएशियाले गोल हान्दा नाचिरहेको देखिएकी थिइन् ।

मैदानमा आफ्नो शानदार फुटबल प्रदर्शनका कारण क्रोएशियाले निकै चर्चा बटुलिरहेको छ । यसका पछाडि उनीहरुको भिन्न स्टाइल छ ।

उनीहरुले लगतार तीन प्रतिस्पर्धामा एक सय २० मिनेट खेलिसकेका छन् । तीमध्ये दुई खेल पेनाल्टी सुटआउटमा पनि गयो । आइतबारको फाइनलमा एकपटक पुनः उनीहरुले आफ्नो यो प्रदर्शनलाई दोहोराउने आशा गरिएको छ ।

इंग्ल्याण्डविरुद्धको खेलपछि ब्रिटिश टेलिभिजन आइटीवीमा मोड्रिचको प्रतिक्रिया थियो, ‘अंग्रेजी पत्रकारहरु र टेलिभिजनमा एक्सपर्ट राख्नेहरुले हामीलाई कम देखाएका थिए । यो उनीहरुको एउटा ठूलो गल्ती थियो । हामीले उनीहरुले लेखेको र भनेको सबै कुरा सुन्यौं र पढ्यौं । र हामीले भन्यौं, ‘हेरौं को थाक्नेछ ?’ हामीले एकपटक पुनः देखाएका छौं कि हामी थाकेका छैनौं । यो प्रतिस्पर्धामा शारिरिक र मानसिक रुपमा हाम्रो दबदबा देख्न पाइयो ।’

कप्तानलाई थाहा छ कि क्रोएशियाले फाइनलमा आफ्नो स्थान बनाइसकेको छ । यसका साथै रियल मड्रिडका मिडफिल्डर मोड्रिच अनुहारमा एक मुस्कानसहित अन्तर्वार्ताबाट बिदा भए ।

मोड्रिचको करियरः

३२ वर्षका लुका मोड्रिचले आफ्नो करियरलाई यहाँसम्म पुर्याउनका लागि थुप्रै चुनौतीको सामना गरेका छन् । सन् १९८५ सेप्टेम्बर ९ तारिखमा जन्मेका मोड्रिच जब १० वर्षका थिए तब उनलाई निकै कमजोर र लजालु भएको बताउँदै थुप्रै प्रशिक्षकले तालिम दिन मानेनन् ।

यद्यपी, एक पुराना प्रशिक्षकले उनलाई डायनामो जेग्रेब क्लबको ट्रायल दिलाए । १६ वर्षको उमेरमा मोड्रिच डायनामोसँग अनुबन्ध भए । त्यहाँ उनको प्रतिभामा निखार आयो र त्यसपछि उनी क्लब र देशका लागि खेल्न सुरु गरे ।

सन् २००६ मा मोड्रिचले अर्जेन्टिजाविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय करियर सुरुवात गरे । विश्वकप सेमिफाइनलसम्म मोड्रिच आफ्नो देशका लागि एक सय १२ म्याच खेलिसकेका छन् ।

उनी इंगल्याण्डमा फुटबल क्लब टोटनह्याम (सन् २००८–१२) पनि खेलिसकेका छन् र सन् २०१२ देखि स्पेनिश क्लब रियल मड्रिडका लागि  खेलिरहेका छन् ।

मोड्रिच संसारका सबैभन्दा महँगा फुटबल खेलाडीमध्येका एक हुन् र उनी ६ पटक क्रोएशियाली फुटबलर अफ द इयर चुनिइसकेका छन् । उनी यस्ता एकमात्र क्रोएशियाली फुटबलर हुन् जसलाई फिफा वर्ल्ड ह्क्ष् को समूहमा समावेश गरिएको छ ।