कप्तान मोड्रिचको आफ्नै कथा यस्तो छ ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कप्तान मोड्रिचको आफ्नै कथा यस्तो छ !



क्रोएसिया विश्वकपमा इतिहास रच्ने संघारमा उभिएको छ। र यो उसको लागो एउटा सुनौलो मौका र चुनौतिको चांग पनि हो ।

बुशाबार राति इंग्ल्याण्डविरूद्धको सनसनीपूर्ण खेलमा २-१ को नतिजा निकालेपछि २७ वर्षअघि स्वतन्त्र देश बनेको क्रोएसिया पहिलो पटक विश्वकपको फाइनल पुगेको हो।

समूह चरणको दोस्रो खेलमै लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई ३-०ले हराएपछि क्रोएसियाले धेरैको ध्यान तान्यो। प्रिक्वार्टर र क्वार्टर फाइनलमा उसले पेनाल्टीबाट डेनमार्क र रसियालाई पाखा लगायो।

विश्वकपअघि स्लोभेनिया, हंगेरी, सर्विया, बोस्निया एण्ड हर्जगोभिनिया र एड्रियाटिक सीले घेरिएको झन्डै ४२ लाख मानिस बस्ने यो देशबारे धेरैलाई थाहा थिएन।

तर रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने लुका मोड्रिचलाई भने फुटबल पछ्याउने धेरैले चिन्थे। उनै मोड्रिचको कप्तानीमा क्रोएसिया विश्वकप फाइनल पुगेको हो।

आफूभन्दा पछि जन्मिएको देशलाई फाइनलसम्म पुर्‍याउन मोड्रिचले ठूलो योगदान दिएका छन्। मिडफिल्डर मोड्रिचले दुई गोल हानेका छन् । अर्का मिडफिल्डर इभान राकिटिचसँग उनको गजब तालमेल छ।

यहाँसम्म आइपुग्न जिन्दगीमा उनी आफैंले खाएको हण्डरठक्करको फेहरिस्त पनि लामै छ।

९ सेप्टेम्बर १९८५मा जन्मिएका हुन्, मोड्रिच। उनका बुवाआमा कारखानामा काम गर्न घरदेखि टाढा जान्थे। मोड्रिच आफ्ना हजुरबुवासँग बस्थे। उनकै काखमा सुत्थे। उनकै काँधमा चढ्थे। हजुरबुवा पनि उनलाई निकै माया गर्थे।

समयको चक्र सधैँ उसैगरि कहाँ चल्छ र? मोड्रिच ६ वर्षका हुँदा उनको गाउँ मोड्रिचीमा केही सर्वियन मिलिसिया आए। त्यतिबेला बाल्कन युद्द चलिरहेको थियो। ती मिलिसियाले केही निर्दोष गाउँलेलाई मारिदिए। मारिनेमा मोड्रिचका प्यारा हजुरबवा पनि थिए। जो वस्तुभाउ चराउन गएका थिए। मिलिसियाले बाँचेकालाई गाउँ छोडेर जान उर्दी दिए।

मोड्रिच पनि आफू जन्मिएको पहाडको काखमा रहेको मोड्रिची गाउँ छोडेर जान बाध्य भए।

बुवाआमाले उनलाई तटीय सहर जदारमा ल्याए। त्यहाँ उनीहरू आन्तरिक शरणार्थी बनेर बसे।

जदारमा मोड्रिचको घर थिएन उनीहरू होटलमा बसे। युद्द जारी थियो। बिजुली र पानीको राम्रो सुविधा नभएको उनीहरूको कोठाबाट बम र ग्रिनेड पड्केको आवाज आइरहन्थ्यो।

मोड्रिच भने होटलभित्रै फुटबल खेल्थे।

‘बम र ग्रिनेड पड्केरभन्दा उनले हानेका बलले होटलका धेरै सिसा फुटे,’ कोलोभेयर होटलका प्रवक्ताले भने,‘उनी जतिबेलामा पनि होटलको हलमा फुटबल खेलिरहेका हुन्थे।’

त्यो ज्यादै कठिन समयमा पनि मोड्रिचले हार मानेनन्।

‘धेरै वर्षसम्म हामी पैसाको अभाव झेल्दै होटलमा बस्यौं। तर मैले कहिल्यै फुटबल छोडिनँ। म अहिले पनि सम्झन्छु पहिलो पटक खुट्टामा सिन प्याड लगाएको। तिनमा ब्राजिलका रोनाल्डो थिए। मलाई ती खुब मन पर्थे,’मोड्रिचले भनेका छन्।

उनले हजुरबुवा गुमाउनु पर्दाको पीडाले आफूलाई बलियो बनाएको बताएका छन्।

‘६ वर्षको हुँदा युद्धले हामीलाई शरणार्थी बनायो। त्यसैले मलाई बलियो पनि बनायो। त्यो म र मेरो परिवारका लागि निकै कठिन बेला थियो। तर म सधैँ त्यही कुरा सम्झिरहन चाहन्न नत सधैँका लागि बिर्सन नै चाहन्छु,’ मोड्रिचले भनेका छन्।

१० वर्षको हुँदा उनलाई धेरै प्रशिक्षक कमजोर र लजालु भएकाले फुटबल खेल्न नसक्ने बताउँथे।

जदारमा उनलाई प्रशिक्षण दिने टोमिस्लाभ बेसिचले भने उनलाई राजधानीको क्लब डिनामो जाग्रेबमा ट्रायल दिन लगाए। २००३ मा उनी सो क्लबमा आवद्ध भए। त्यहीँबाट उनको प्रतिभाले प्रष्फुटन हुने मौका पायो। त्यसपछि भने मोड्रिचले पछाडि फर्कनु परेन।

सन् २००८ मा उनी लण्डनको टोटेनहम हटस्पर गए। चार वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा उनी स्पेनिस क्लब रियल मेड्रिड पुगे। उनी अहिले पनि रियलका भरपर्दा मिडफिल्डर हुन्।

जाग्रेबमै हुँदा उनको फुटबल एजेन्ट भान्जा बोस्निचसँग भेट भयो। चिनजान प्रेममा बदलियो। ४ वर्षपछि उनीहरूले विवाह गरे। अहिले उनीहरूका तीन सन्तान छन्।

विश्वकप उपाधिका लागि आइतबार साँझ मस्कोमा क्रोएसिया र फ्रान्स भिड्दै छन्। फ्रान्सले उपाधि जिते उसले २० वर्षअघिको इतिहास दोहोर्‍याउने छ। क्रोएसियाले उपाधि चुमे नयाँ इतिहास कोर्नेछ।

आइतबारको खेल क्रोएसियालाई २० वर्षअघिको इतिहास सच्चयाउने मौका पनि हुनेछ।

डेभर सुकरको गोलमा सन्१९९८को सेमिफाइनलमा अग्रता लिइसकेपछि क्रोएसिया डिफेन्डर लिलिएन थुरामका दुई गोलका कारण आयोजक फ्रान्ससँग पराजित भएको थियो। डिडियर देस्सामको कप्तानीमा फ्रान्सले फाइनलमा ब्राजिललाई हराएर विश्वकप उचालेको थियो।

तिनै देस्सामले प्रशिक्षण गराएको फ्रान्सलाई फाइनलमा हराएर क्रोएसियाका पहिला सुपरस्टार सुकरले नसकेको सफलता हासिल गर्ने मौका दोस्रा सुपरस्टार मोड्रिचलाई छ।