मोदीले बताए भ्रष्ट र चौकीदारको फरक - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

मोदीले बताए भ्रष्ट र चौकीदारको फरक



काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार कांग्रेस पार्टीमाथि फेरि एकपटक आक्रमण गरेका छन् ।

उक्त पार्टी देशको हितको रक्षा गर्नका लागि चिन्तित नभएको मोदीको आरोप छ । प्रधानमन्त्री मोदीले भने, ‘मानिसहरूले नयाँ नारा दिन थालेका छन् : गरीबी हटाउन कांग्रेस हटाऊ ।’

‘विगत पाँच वर्षमा संसारले बलियो र निर्णायक सरकार देखेको छ । त्यसभन्दा अघि दश वर्षसम्म रिमोट कन्ट्रोलले चलेको सरकार थियो अनि दिनदिनै भ्रष्टाचारको खबर आउँथ्यो,’ मोदीले महाराष्ट्रको अहमदनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने ।

मोदीले भने, ‘आज संसारले भारतको बहालवाला सरकार बलियो भएको मान्छ । तपाईंहरू चुनावमार्फत भविष्यको रूपरेखा कोरिरहनुभएको छ । तपाईंहरू के चाहनुहुन्छ, त्यो निर्णय गर्नुस् ः इमान्दार चौकीदार छान्ने कि भ्रष्ट नामदार ? तपाईंहरू हिन्दुस्तानको नायक छान्ने कि पाकिस्तानको पैरवी गर्नेलाई छान्ने ?’

चुनावी भाषणमा प्रधानमन्त्रीले बालाकोटमा भारतीय वायुसेनाले गरेको हवाई आक्रमणको चर्चा त गरेनन् तर त्यसको अप्रत्यक्ष सन्दर्भ चाहिँ कोट्याउँदै कांग्रेस नेतृत्वको विपक्षी खेमालाई तारो बनाए । अघिल्लो यूपीए सरकारले सशस्त्र बललाई नियन्त्रण रेखापारि रहेका आतंकवादी शिविरमा आक्रमण गर्न नदिइएको उनले बताए ।

आफ्नो सरकारले आतंकवादको सामना गर्नका लागि निर्णायक कार्य गरेको उनले बताए । उनले भने, ‘कांग्रेस सरकारको शासनकालमा देशले पीडा मात्र भोग्यो । त्यतिखेर मुम्बईमा आतंकवादी आक्रमण भयो अनि पुणेमा बम विस्फोटका घटना भए । तपाईंहरूले यो चौकीदारको सरकार देख्नुभएको छ । अहिले खै त बम विस्फोट भएका ?’

प्रधानमन्त्रीले भने, ‘यो चौकीदारले आतंकवादीहरूमाझ डर उत्पन्न गरेको छ । उनीहरूले एउटा पनि बिराम गरे भने पातालबाट खोजेर भए पनि ल्याइन्छ र कारवाही गरिन्छ ।’

हिन्दुस्तान टाइम्सबाट